३० दिनभित्रै मोदी र ओलीलाई विषादी परीक्षण गर्ने मेशिन उपलब्ध गराउँछु : ई. कँडेल





पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा विषादी रहेको र यसबाट लाखौं नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गम्भिर ध्यानाकार्षण गराएका छन् ।

उनले आफू भारतीय प्रधानमन्त्री मोदीको ठूलो फ्यान भएपनि पहिला आफ्नो परिवार अनि देश र त्यसपछि मात्रै मित्रराष्ट्र आउने सुनाउँदै नेपाली नागरिकको स्वास्थ्यप्रति आफू संवेदनशीले रहेको सुनाए ।

उनले नेपाल–भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ सबैलाई पछि पार्दै मोदी विश्वकै शक्तिशाली नेता बनेकोमा गर्वले आफ्नो छाति चौडा भएको पनि कँडेलले सुनाए ।

पहिलो कार्यकालको सुरुवातमै नेपाल भ्रमण गर्दा मोदीले नेपालको तत्कालिन संविधानसभामा सम्बोधन गर्दा ‘भारतले जितेका सबै युद्धमा नेपालीले खुन बगाएको’ कुरा सम्झिंदै कँडेलले भने,‘मोदीज्यु, बहादुर नेपाली त भारतलाई चाहिएको छ, त्यसैले बहादुर बनाउनको लागि पनि स्वच्छ र तेजिलो तरकारी खानुपर्छ ।’

उनले भारतबाट नेपाल आयात हुने तरकारीमा विषादी भेटिएको कुरा आफूले सुन्नु पर्दा निकै दुःख लागेको सुनाए । कँडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘त्यही विषादीले भरिएको सब्जी मैले मेरो २० महिनाको छोरालाई खुवाउनुपरेको छ, म मेरो छोरालाई तपाईको देशको एयरफोर्समा फाईटर प्लेन चलाउन पठाउन चाहन्छु, हो आज मैले मेरो छोरालाई त्यही विषादीवाला तरकारी खुवाउनुपरेको छ । यसले मलाई निकै दुःखी तुल्याएको छ।’

नेपालस्थित् भारतीय दुतावासले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्न दबाबसहित नेपाल सरकारलाई गरेको पत्राचारको बारेमा पनि कँडेलले मोदीको ध्यानाकार्षण गराएका छन् । उनले तरकारीमा हुने विषादी दुवै देशका सरकारले तुरुन्त हटाउनुपर्ने माग गरे । उनले भने,‘तरकारीमा हुने विषादीलाई हटाएर दुवै देशका नागरिक र नेपाल आउने पर्यटकको स्वास्थ्यप्रति जिम्मेवारी बन्न आग्रह गर्दछु ।’ नेपालले भिजिट नेपाल २०२० भव्य रुपमा सफल बनाउन गैरहेको अवस्थामा विषादीरहित तरकारीको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।

उनले आफू आर्थिक कुटनीतिको क्षेत्रमा कार्यरत व्यक्ति भएको सुनाउँदै यदि नेपाल र भारत दुवै देशका सरकारले सहयोग गरे एक महिनाभित्र दुवै देशलाई विषादी परीक्षण गर्ने यन्त्र उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया