धान रोप्ने बेलामा मलको अभाव

धान रोप्ने बेलामा मलको अभाव


किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् ।

अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले मागअनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको चर्को मूल्यको भारतीय मल गुणस्तरीय भए नभएको जानकारी नभए पनि किसान भारतीय मलको प्रयोग गर्न बाध्य छन् ।

शुक्लाफाँटा नगरपालिका–२ का किसान मनोज चौधरीले सरकारले उपलब्ध गराउने मल नपाउँदा भारतको निकटवर्ती बजारबाट ल्याइएको मल राखेर रोपाइँ गरेको बताए । कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल एक हजार ४४३ मेट्रिकटन, युरिया एक हजार ८०३ मेट्रिक टन र पोटास ३५ दशमलव ७५० मेट्रिक टन मल आपूर्ति गरेको छ ।

ती मल जेठको पहिलो सातामै सकिएको संस्थानका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । चैतदेखि जेठको पहिलो सातासम्म कम्पनीबाट डिएपी ३८४ मेट्रिक टन बिक्री भएको छ । ‘डिएपी दुई हजार मेट्रिक टन, युरिया दुई हजार ५०० टन र पोटास ७० मेट्रिक टन कम्पनीले आपूर्ति गर्ने लक्ष्य लिएको भए पनि समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन सकेन’, उनले भने ।

किसान मलको माग गर्दै कार्यालयसम्म पुग्छन् । मल नपाउँदा निराश भएर फकर्ने गरेको उनको भनाइ रहेको छ । धानखेतीका लागि ६०० मेट्रिक टन युरिया भैरहवास्थित कार्यालयबाट ल्याउन लागेको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार जसमध्ये ४५९ मेट्रिक टन युरिया आपूर्ति भइसकेको छ ।