बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित : प्रधानमन्त्री

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

शुक्रबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले सम्भावित जोखिमबाट जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराए । उनले सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाए ।

प्रधानमन्त्री ओलीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाले ज्यान गुमाएको, सातजना बेपत्ता तथा चार सयभन्दा बढी घरमा क्षति पुगेको जानकारी दिए । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेस क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय संकट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ ।

आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, संघसंस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
rss