वर्षासँगैको विपत्ति : काभ्रे, रामेछाप, भोजपुर र ललितपुरमा गरी ६ जनाले ज्यान गुमाए

वर्षासँगैको विपत्ति : काभ्रे, रामेछाप, भोजपुर र ललितपुरमा गरी ६ जनाले ज्यान गुमाए


तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशका अधिकांश क्षेत्र प्रभावित बन्नुका साथै विभिन्न जिल्लामा गरी हालसम्म ६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म प्राप्त समाचारअनुसार रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाले जनाले ज्यान गुमाइसकेका छन् ।

ज्यान गुमाउनेमा काभ्रेको पनौतीमा घरमाथि पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीय नातिनी सोहनी रहेका छन् । यस्तै, रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारले ज्यान गुमाएकी छिन् ।

भोजपुरमा भेल घरभित्र पस्दा पर्खाल भत्किएर एकजनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई रहेका छन् । त्यस्तै, टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको दिसा बस्न गएको बेला चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

वर्षाकै कारण घर भत्किँदा ललितपुरको बागमती गाउँपालिका–२ बगुवामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चलाल जिम्बाका ११ वर्षीय छोरा सरोज जिम्बा रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।