पहिरोले घर बगाउँदा खोटाङमा तीन बेपत्ता

पहिरोले घर बगाउँदा खोटाङमा तीन बेपत्ता


खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान करिब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारैजनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । ‘पहिरोले घर बगाउना साथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्,’ श्यामले बताए, ‘अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।’

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

घरदेखि करिब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ ।
rss