कपिलवस्तुमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण

कपिलवस्तुमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण


■ नारद कोहार, कपिलवस्तु

जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य शुरु गरिएको छ । जिल्ला समन्वय समितिका सभापति नारायण खनालले पहिलो परिचयपत्रको काम आफैबाट सुरु गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र वितरणका अवसरमा बोल्दै समन्वय समितिका सभापति नाराणयण खनालले आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकको विकास हुने बताए। जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उनको भनाई छ ।

सोही क्रममा बोल्दै जिल्ला समन्वय समितिकी उपसभापति तारावती थारु र कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले कपिलवस्तुबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु हुनु जिल्लाका लागि गर्वको विषय रहेको बताइन् ।

परिचय पत्र दिने कार्य निरन्तर रुपमा जिल्ला प्रशासनबाट शुरु भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । प्रशासन कार्यालयबाट दिने नागरिकता पनि राष्ट्रिय परिचय पत्रमा अभिलेख राखिने उनको भनाई छ । केही दिनमा हामी गाउँगाउँमा गएर फिल्ड भिजिट गरेर परिचय पत्र वितरण गर्ने प्रजिअ श्रेष्ठले बताए ।

देशमै पहिलोपटक यो कार्यक्रम पाँचथरबाट सुरु भएको हो भने दोस्रो चरणमा कपिलवस्तु, गुल्मी, स्याङ्जा, सल्यान, जुम्ला, कञ्चनपुर, झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ र अछाम गरी १५ जिल्लामा वितरण शुरु भएको सहायक प्रजिअ रामेश्वर अर्यालले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ ।