सिरियाली गृहयुद्धमा तीन लाख ७० हजारभन्दा बढीको मृत्यु

सिरियाली गृहयुद्धमा तीन लाख ७० हजारभन्दा बढीको मृत्यु


सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकुबीच भएको भिडन्तमा दुवै पक्षका १०० भन्दा बढी लडाका मारिएका छन् ।

सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–सुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ ।

राष्ट्रसंघका अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीमाथि पनि लक्षित गरी हवाई आक्रमण भएका छन् । सिरियाको गृहयुद्धमा हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सन् २०११ देखि शुरु भएको यस गृहयुद्धबाट लाखौँ मानिस अन्यत्र पलायन भएका वा शरणार्थी भएका छन् ।

अब्जरभेटरीले बुधबारदेखि जारी पछिल्लो भिडन्तमा कम्तीमा ५७ जना सुरक्षाकर्मी र ४४ जना जिहादी मारिएको जनाएको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले हामा प्रान्तको उत्तरसमेतका हायात तहरिर अल–शामले नियन्त्रण गरिराखेका क्षेत्रमा सरकारी फौजले भीषण हवाई हमला जारी राखेको बताए ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवबस्तीमा भएका हवाई हमलाको निन्दा गर्दै नागरिक र नागरिकको सेवाका लागि स्थापित पूर्वाधार, स्वास्थ्य केन्द्रहरूलाई सुरक्षित तुल्याउनु सबैको कर्तव्य रहेको बताएका छन् ।