कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


आज नेपाली काग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पाँच दिनपछि पुनः बस्न लागेको हो । यसअघि असार २२ गते आइतबार १४ वटा एजेण्डा मात्र प्रस्तुत गरेर बैठक रोकिएको थियो ।

बैठकको प्रमुख एजेण्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रकृया अघि बढाउने रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण गर्ने, २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत हुनेछ ।

केन्द्रीय अनुशासन समितिले कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भातृ संघ आदिबारे बैठकले निर्णय लिने प्रवक्ता शर्मा बताउँछन् ।

काँग्रेसमा तल्लो तहको संरचना निर्माण गर्दा १३ औं महाधिवेशनको बाँकी अवधिको लागि तदर्थ समिति बनाएर नेतृत्वमा मनोनित गर्नुपर्ने एकपक्ष नेताहरुको भनाइ छ भने अर्कोपक्षले निर्वाचनबाटै नेतृत्व छान्नुपर्ने अडान लिँदै आएका छन् । गत आइतबारको बैठकमा पनि महाधिवशेनको प्रसंग उठेको थियो । यसैका कारण सभापति शेरबहादुर देउवाले बैठक पाँच दिन पछाडि सारेका थिए । आजको बैठकमा पनि महाधिवशेनको प्रसंग उठ्ने नेताहरुले बताएका छन् ।