आँसुको बयान-महेश रेग्मी

आँसुको बयान-महेश रेग्मी


मेरो आँखाको डिलमा बसेको छ धमिलो अतीत
आँखाको इजलासबाट दृश्यहरू भाग्दै छन्
मेरो आँसुको बयान सुन्ने कुनै पुलिस छैन
न त छे ? फरार प्रेमिका
न त छ ? कुनै चर्चित पत्रिकाको सम्पादक
न त छ ? कुनै गुप्तचर ।

के मेरो आँखामा छैन आमाको आँसु ?
के मेरो आँखामा छैन देशको आँसु ?
भागिरहेको समयसँगै म भागिरहेको छु ।

के मेरो आँखाको आँसुलाई ?
असफल प्रेमीको बयान ठान्छौ तिमी ?
के मेरो आँखाको आँसुलाई ?
सस्तो उपन्यासको वर्णन ठान्छौ तिमी ?
के छैन मेरो आँसुको बयानमा ?
देवकोटाको मदन पनि छ
रिमालको मसान पनि छ
बाङ्देलको माइला भुजेल पनि छ ।

कसैले हेप्न पाउने छैन मेरो आँखाको आँसुलाई
कोही छ ?
मेरो आँसुको बयान सुन्ने ?
तिमी को हौ ?
मेरो आँसु पुछ्न आउने ?
के तिमी मेरो टोलको मनिटर हौ ?
मेरो आँसुमा राजनीति गर्ने,
मेरो आँसु कसैले पुछ्न सक्दैन
मेरो आँसुको बयान कोही सुन्न सक्दैन
किनकि, मभन्दा बढी मौन छ मेरो आँसु
मलाई मेरो आँसुले भिजाउन र निल्न थालेको छ
तर मेरो आँसु
अरण्यरोदनको तप तप थोपा भने होइन ।
——————————————————————
१. लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’को मदन, २. गोपालप्रसाद रिमालको नाटक ‘मसान’
३. लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’ उपन्यासको पात्र माइला भुजेल

केही हाइकु-बिना गुरुङ
क्रियाकलाप
जस्तो कि छलपूर्ण
जानाजान रे

स्वाभिमानता
सम्भव/असम्भव
स्थायी रहन

इमानदार
नाम मात्र केवल
औपचारिक

आदर्शपन
केवल आडम्बरी
हिलो माटोझैँ

आजको युग
नाङ्गो उदाङ्गो शैली
प्रस्तुतकर्ता

उदारवाद
उर्लेको बाढी न हो
स्वार्थी प्रवृत्ति
दण्ड-विधान
पर्‍यो झुसिलकीरा
उम्क्यो माहुरी

कर्तव्यनिष्ठ
सिन्को भाँचिन्न जहाँ
कुराको लङ्का

विनयशील
हुँदा हसिमजाक
झुट नियति ।

गाउँमा अरू के छैन ?-सुरेश सुवेदी
के छैन मेरो गाउँमा
भञ्ज्याङ चढ्ने उकाली छ
बेसी झर्ने ओराली छ,
दुनियाँ देखिने देउराली छ
गाउँमा एउटा चौतारी छ
तर, चौतारीमा बस्ने दौंतरी पो छैन ।
गाउँमा अरू के छैन ?

गाउँमा सुन्दर प्रकृति छ
पात-पतङ्ग र डाँठ छन्
चाक्ला मलिला फाँट छन्
फाँटमा काम गर्ने आँट छन्
तर, आँट बढाउने गाँठ पो छैन
गाउँमा अरू के छैन ?

गाउँमा हाम्रा कुल छन्
कुलले पिएका मूल छन्
मूलले सिँचिएका फूल छन्
तर मूल र फूल जोगाउने हुल पो छैन
गाउँमा अरू को छैन ?

गाउँमा एउटा मन्दिर छ
मन्दिरभित्र मूर्ति छ
मूर्तिमै भए पनि देउता छन्
देउतालाई साथ दिने एउटा पो छैन
गाउँमा अरू को छैन ?

विकटमै भए पनि गाउँ छन्
ममतामयी माउ छन्
बूढा भएका बाउ छन्
बाउलाई सताउने साहु छन्
साहुलाई बुझाउने भाउ पो छैन
साहुलाई सम्झाउने दाउ पो छैन
गाउँमा अरू के छैन ?