एभरेष्ट बैंकका बिकेद्वारा एक करोड दान, पाँच करोडले गरिनेछ मन्दिर निर्माण

एभरेष्ट बैंकका बिकेद्वारा एक करोड दान, पाँच करोडले गरिनेछ मन्दिर निर्माण


व्यापारीका आराध्य देवता मानिने पाटन (ललितपुर) स्थित भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले एक करोड सहयोग हस्तान्तरण गरेका छन् ।

पुख्र्याैली घर पाटन भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको स्मरणमा रकम हस्तान्तरण गरेका हुन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जन, मङ्गल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान र काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) का प्रमुख डा. रोहित रञ्जितकारलाई बिहीबार बिकेले करोडको चेक हस्तान्तरण गरेका हुन् ।

प्यागोडा शैलीमा निर्मित उक्त मन्दिर ०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो । मन्दिर दिनदिनै जीर्ण बन्दै गएपछि मङ्गल टोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा मन्दिर पुनर्निर्माणका लागि समिति गठन भई काम शुरु भएको थियो । समितिले मन्दिर पुनर्निर्माणमा सुन लेपनबाहेक चार करोड त्रियानब्बे लाख लाग्ने अनुमान गरिएको छ । सो मन्दिरको निम्ति ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् ।

ज्ञात रहोस्, भारतीय पञ्जाब नेशनल बैंकको विशेष लगानी र केही नेपाली व्यवसायीहरुको लगानीमा २५ वर्षअघि स्थापना भएको एभरेष्ट बैंक लि. का ुसदाबहार अध्यक्षु भनेर चर्चामा रहेका बिके श्रेष्ठले बागबजारस्थित आफ्नै घरलाई स्नो लाइन होटल भनेर दर्ता गरी त्यसकै नाममा १३.५ प्रतिशत एभरेष्ट बैंकको शेयर खरिद गरेको विषय चर्चामा छ । यसरी अनियमितता गरेर बैंकको दोहन गरे पनि बागबजारमा स्नो लाइन होटको भने कुनै अस्तित्व नरहेको जानिफकारहरु बताउँछन् ।