प्रदेश २ सरकार कार्यकर्ता पोस्नमै सीमित : महेन्द्र यादव

प्रदेश २ सरकार कार्यकर्ता पोस्नमै सीमित : महेन्द्र यादव


■ तुलसी नेपाल, जनकपुरधाम

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री महेन्द्र यादवले समाजवादी, राजपा गठबन्धनको प्रदेश २ सरकार आफ्ना कार्यकर्ता पोस्न मात्रै सीमित रहेको र विकासको कुनै भिजन नरहेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा गर्दै पुर्वमन्त्री यादवले ११ महिनामा ५ अर्ब ७३ करोड विकास बजेट खर्च गरेको प्रदेश २ सरकारले आर्थिक वर्षको अन्त्यमा ४ अर्ब ३१ करोड भन्दा बढी विकास बजेट खर्च गरेको डाटा पेश गर्दै प्रदेश सरकारका मन्त्रालय चेक काट्ने स्थानमा मात्रै सीमित रहेको टिप्पणी गरे ।

यो सरकार जनताको सरकार नभएर ठेकेदारको मात्रै सरकार रहेको उनको जिकीर थियो । प्रदेश सरकारका मन्त्री मन्त्रीबीच कसले कति अनियमितता गर्ने र पैसा कमाउने ध्याउन्नमा मात्रै लागेको उनको भनाई छ । बेटी बचाउ, बेटी पढाउू देखि होर्डिङ बोर्डमा समेत अनियमितता भएको उनले उल्लेख गरे ।

संघीय सरकार र स्थानीय सरकारले गरेका विकासका कामलाई आफूले विकास गरेको भन्दै प्रचार गरेर प्रदेश सरकारले आफ्नो कमजोरी ढाकछोप गरेको भन्दै प्रदेश सरकारले एक किमी मात्रै सडक कालोपत्रे गरेको भए त्यसको प्रमाण उपलब्ध गराउन उनले चुनौती पनि दिए ।

उपभोक्ता समिति निर्माणदेखि नै भ्रष्टाचार हुने गरेको जानकारी दिँदै बन्द कोठामा आफन्त र नातेदार भेला पारेर उपभोक्ता समिति निर्माण गरी संस्थागत भ्रष्टाचार भइरहेको भन्दै छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गर्दै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला सभापति महेश शंकर गिरिले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त मात्रै नभएर सूचनाको हकलाई पनि कुण्ठित गर्न लागिपरेको उल्लेख गर्दै आफूले हुलाकी सडकको कार्यप्रगति माग्दा आफुले समेत नपाएको उल्लेख गर्दै प्रदेश सरकार कसको हो भन्ने प्रश्न खडा भएको उल्लेख गरे ।