रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते

रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते


पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एक–आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एक–आपसमा जुधेका थिए ।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्युजलाई दुर्घटनाबारे प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दशजनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् । घाइतेहरूलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतका अनुसार घाइतेमध्ये चारजनाको अवस्था अत्यन्त गम्भीर रहेको छ ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौँदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ । पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिए । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुईवटा रेल जुधेर तीनजनाको मृत्यु भएको थियो ।