नेपालले ‘जीटुजी’मार्फत मल आपूर्ति गर्न नचाहेको भारतको आरोप

नेपालले ‘जीटुजी’मार्फत मल आपूर्ति गर्न नचाहेको भारतको आरोप


दुई देशका सरकार सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्न सम्झौता भए पनि नेपाली पक्ष जीटुजीमार्फत मल आपूर्ति गर्न नचाहेको बुझिएको छ ।

खासगरी कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मल ल्याउने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी नै जीटुजी नचाहेको नेपालस्थित भारतीय दूतावास स्रोतले जानकारी दिएको छ ।

दूतावास स्रोतका अनुसार, कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीकै आनाकानीले जीटुजीमार्फत मल ल्याउने योजना अलपत्र परेको जनाइएको छ । गत जुलाई २०१८ मा नेपालले भारतलाई दीर्घकालीन जीटुजीमार्फत मल आपूर्ति गर्न समझदारी (एमओयू) भयो ।

त्यसपछि जनवरी २०१९ को संयुक्त सचिवस्तरीय बैठकमा भारतले प्रस्ताव गरेको एमओयूमाथि चाँडै प्रतिक्रिया दिन नेपाली पक्ष सहमत भयो । तर, नेपाली पक्षले ६ महिना ढिला गरी अर्थात् मे २०१९ मा मात्रै प्रस्तावमाथि प्रतिक्रिया दिएको उल्लेख गरिएको छ ।

यता, जीटुजी सम्झौताको ड्राफ्ट एमओयू प्रपोजलको प्रतिक्रियाबारे कृषि मन्त्रालय र वैदेशिक मामिला मन्त्रालयमा निरन्तर ‘फलोअप’ गरे पनि कुनै प्रतिक्रिया नदिएको दुतावास स्रोतको दाबी छ । कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीले जीटुजीमार्फत मल आपूर्ति गर्न नचाहेको दूतावासको निष्कर्ष छ ।

दीर्घकालीन सम्झौतामा ढिलाइ भए पनि यस वर्षका लागि जीटुजीमार्फत ५० हजार मेट्रिकटन मल दिन भारतले चाहेको थियो । तर, नेपालले त्यसअनुसार मलका लागि पहिले नै ग्लोबल टेन्डर गरेको दूतावास स्रोतको भनाइ छ ।

दूतावास स्रोतले भनेको छ, ‘कृषि मन्त्रालय र कृषि सामग्री कम्पनी जीटुजीमार्फत मल आपूर्ति गर्न चाहँदैनन् । किनकि यसको रकम सीधै भारत सरकारलाई भुक्तानी गर्नुपर्छ । यसमा कमिसन हुँदैन् ।’ नेपालले भारतीय कम्पनीलाई जिटुजीअन्तर्गत मल आपूर्ति गर्न एक महिना पनि समय नदिएको बताएको छ ।

जीटुजीमार्फत ल्याउन भनिएको ३० हजार मेट्रिकटन युरिया र २० हजार टन डीएपी मलका लागि ग्लोबल टेन्डर गरिएको दूतावास स्रोतको भनाइ छ । मलको अन्तर्रा्िष्ट्रय मूल्य बढेकाले तत्काल जीटुजीमार्फत मल खरिद प्रक्रियामा ढिलाइ भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक अच्युत पौडेलले बताए । कम्पनीले जीटुजीमार्फत मल आपूर्ति चाहे पनि विभिन्न कारणले ढिलाइ हुन पुगको तर्क गरे ।

‘अन्तर्रा्िष्ट्रय मूल्यका कारण केही समस्याले मल आपूर्तिमा समस्या आएकै हो,’ उनले भने, ‘तर, जीटुजीमार्फत मल ल्याउन नचाहेको भन्ने होइन । प्रस्ताव पठाइसकेका छौं ।’ सरकारले चालू आर्थिक वर्षमा अनुदानबापत मलका लागि झन्डै ६ अर्ब र थप ३ अर्ब रुपैयाँ गरी ९ अर्ब रुपैयाँ बजेट दिएको थियो । हालसम्म साढे २ लाख टन मल मात्रै खरिद भएको छ ।

यस वर्ष जीटुजीमार्फत ५० हजार टन मल ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृित दिइसकेको छ । तर, एक महिना बितिसक्दा पनि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । यसअघि सरकारले पाँच वर्षसम्म हरेक वर्ष जीटुजीमार्फत मल ल्याउने प्रस्तावसमेत गरेको थियो ।

चालू आर्थिक वर्ष २०७५/०७६ देखि २०६९/०७० सम्मका लागि नौ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल जीटुजीमार्फत खरिद गर्ने प्रस्ताव भए पनि कार्यान्वयन हुन सकेको छैन । उक्त प्रस्तावअनुसार चालू आवमा डेढ लाख मेट्रिक टन मल जीटुजीमार्फ खरिद गर्ने भनिएको थियो ।

तर, चालू आवको नौ महिना बितिसक्दा पनि ल्याउने भनिएको ५० हजार मेट्रिक टन मल आउन सकेको छैन । फलस्वरुप, यस वर्षको वैशाखदेखि नै किसानले मलको समस्या भोगिरहेका छन् ।