एनआरएनएका जिम्मेवारी बढेर गएका छन् : कुमार पन्त

एनआरएनएका जिम्मेवारी बढेर गएका छन् : कुमार पन्त


कुमार पन्त डायस्पोराको एक चीरपरिचित नाम हो । गैरआवासीय नेपाली संघको भुइँ तहदेखि क्षेत्रीय समन्वय परिषदको अध्यक्ष, आइसीसी, अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव, दुई पटक उपाध्यक्ष रहेर काम गरिसकेका पन्त यो पटक एनआरएनए अन्तर्राष्ट्रिय परिषदमा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँसँग आगामी उम्मेदवारीलगायत विविध विषयमा गरिएको कुराकानी :

० एनआरएनएको अन्तर्राष्ट्रिय अध्यक्षमा तपाईंको उम्मेदवारी हो नि कुमार सर ?
– स्वाभाविक रुपमा मेरो उम्मेदवारी रहन्छ । प्रक्रियागत रुपमा र मुल्याङ्कनका आधारहरूमा टेकेर मैले अध्यक्षमा औपचारिक रूपले उम्मेदवारी दिन लागेको कुरा सत्य हो ।

० बहालवाला अध्यक्ष भगवान भट्ट पुनः अध्यक्षमा उठ्ने सम्भावना छ कि छैन ?
– उहाँको मनभित्रको कुरा उहाँलाई नै सोध्नु उपयुक्त हुन्छ । उहाँले स्वाभाविक रुपमा हाम्रो अभिभावकत्व गर्दा राम्रो हुन्छ वा दोहोऱ्याउँदा ? मेरो विचारमा हाम्रा कुराकानीको आधार र पूर्वसहमतिको कुरालाई उहाँले कदापि भत्काउनु होला जस्तो लाग्दैन । हाम्रो अग्रज, सहकर्मी र नेतृत्व भएकोले उहाँको अन्तसम्म विश्वास गर्छु । किनकि उहाँ हाम्रो अध्यक्ष मात्र नभएर भावी पुस्ताका लागि न्याय, विश्वास, प्रेम र संस्कारको नजीर पनि हो । हामी दुवैको जन्मस्थान एउटै भूखण्डमा (क्षेत्रीय साम्प्रदायिक भावनाको आभास नहोस् भनेर गोरखा जिल्ला नभनिएको हो) भएको र मेरो सम्मानित अभिभावक समेत भएकोले उहाँप्रति गरिएका पुर्वाग्रही अडकल वा अनुमानहरूमा मलाई विश्वास छैन ।

० अनि चुनावमा तपाईंको प्रतिष्पर्धी चाहिँ को होलान् जस्तो देखिन्छ त ?
– प्रथम कुरा त आमसहमतिको प्रयास गर्दा राम्रो होला जस्तो लाग्छ । स्वाभाविकतालाई सम्बोधन गरेर सहमति भयो भने एनआरएनएको इतिहासमा नयाँ अभ्यासको नजिर बन्ने थियो । हाम्रा अग्रजहरूले त्यसको प्रयास पक्कै गर्नुहुनेछ । यदि त्यसो हुन सकेन भने प्रजातान्त्रिक प्रक्रियालाई स्वाभाविक मान्नुपर्ने हुन्छ ।

० ‘स्वाभाविक रुपमा कुमारजी अबको अध्यक्ष हुनुपर्ने हो, तर उहाँले मेरो कार्यकालमा अलिक सहयोग गर्नु भएन, त्यसैले म पुन अध्यक्षमा लड्न बाध्य हुँदैछु’ भन्ने गुनासो छ भन्छन् नि वर्तमान अध्यक्ष भट्ट सरको ?
– त्यो उहाँको तर्क हो जस्तो मलाई लाग्दैन । ठुलो संगठनमा केही अफवाहहरू पनि आउँछन् । जुन कुरा आएका हुन्छन् ती सबैलाई विश्वास गरिहाल्न सकिँदैन । उहाँले मलाई राम्रोसँग बुझ्नुभएको छ जस्तो लाग्छ । संगठनको बैठकमा केही प्रक्रियागत कुरामा ब्यक्तिगत हितभन्दा माथि उठेर निर्णय गरौँ भनिएको होला । एनआरएनहरूका समस्त हितको सम्बोधनमा बाधा उत्पन्न गर्ने खालका एजेन्डाविरुद्ध मत राख्नुलाई नेतृत्वले गुणग्राही बनेर लिनुपर्छ जस्तो लाग्छ । मलाइ सोध्नुहुन्छ भने आफ्ना ‘प्रिय एसम्यान’ भन्दा गल्ती देखाउने मित्रहरू सहयोगी लाग्छन् । हाम्रा अध्यक्ष त्यस्तो विवेकहीन निचोडमा पुग्नुभयो होला जस्तो मलाई पटक्कै लाग्दैन । आफ्ना अभिभावकहरूको कतिपय सुझाव–सल्लाहहरूलाई सहज रुपमा लिन पनि सक्नुपर्छ ।

० वर्तमान उपाध्यक्ष कुल आचार्यको पनि अध्यक्षमा चर्चा छ नि ?
– उहाँको त्यो इच्छा अभ्यासगत रुपमा पनि र क्षमताको हिसाबले पनि स्वाभाविक हुन सक्छ । उहाँमा पनि विवेक छ र को कसरी कहाँ जान सकिन्छ सल्लाह गर्दै छौँ । अहिलेलाई यत्ति भनौँ ।

० पहिले–पहिले लाग्ने आरोप जस्तै कतै पैसाको बलले चुनाव प्रभावित हुने त हैन ? एनआरएनहरूको आशंका र आरोपबारे के भन्नुहुन्छ ?
– मानब विवेकशील प्राणी हो । त्यसमा पनि हामी आर्थिक चलखेललाई सहारा बनाएर चुनावमा जित्ने आकांक्षा राख्यौँ भने वा हाम्रा विवेक, स्वाभिमान र दायित्वबोधलाई खरिद–बिक्रीको साधन बनायौँ भने हाम्रो संगठनको गरिमा त्यतिखेरै सकिनेछ । त्यसको लागि हामीले ठाउँको ठाउँ खबरदारी गर्नुपर्छ । हामीहरू खराब प्रवृत्तिबारे आलोचनात्मक हुँदै आफ्ना सामुहिक एजेन्डालाई सम्बोधन गर्ने कुरामा अडिग हुनुको विकल्प छैन ।

० अघिल्लो चुनावको समीक्षा कसरी गर्नुहुन्छ ?
– चुनाव प्रतिस्पर्धा हो । त्यसमा आर्थिक अपचलनका केही अफवाहहरू आएका हुन सक्छन् । कुशल नेतृत्व क्षमता र आफ्नो माटोप्रतिको जिम्मेवारी बोधबिना सचेत जनअभिमतलाई आर्थिक प्रभावले आकर्षित गर्ने कुराले हाम्रो आफ्नो विवेकलाई गिज्याउँछ । यदि कहिँ–कतै त्यसो भएको हो भने गर्ने–गराउने दुवै दोषी हुन् । हामी आफै सचेत भयौँ भने त्यस्ता प्रभावहरू हुँदैनन् । चुनावपछि हामी एक परिवार जस्तो भएर हाम्रा परियोजना, अभियान र कार्यदिशाको एकरुपतामा संकल्पित हुँदै खटेका छौँ । हाम्रा अभियानहरूमा सम्पूर्ण राष्ट्रिय समन्वय परिषदका साथीहरू, विभागका साथीहरू र एनआरएनहरूको अथाह पसिना बगेको छ । ती सबै आदरणीय साथीहरूलाई म असीम आभार व्यक्त गर्दछु । अघिल्लो चुनावी समीक्षा र कार्यकालको कुरा गर्दा समग्रमा संगठनभित्रको सुन्दर पक्ष नै प्रधान हो भन्ने मलाई लाग्दछ । कमजोरी त मानव सभ्यताका सिक्ने–सिकाउने आधारहरू हुन् । हामीबाट पनि कमी–कमजोरीहरू भएका हुन सक्छन् । मानव भएकोले हामी त्यसको अपवाद हुने सवाल नै पैदा हुँदैन ।

० अनि तपाईंलाई लेफ्ट झुकाव राख्ने अभियन्ता भनिँदोरहेछ नि ?
– संसारमा आस्था नभएको को पो होला र ? मेरो कार्यकालमा कहिल्यै पनि आस्था प्रवाहित भएको जस्तो लाग्दैन र अब पनि हुँदैन । हाम्रो संगठनको संहिताले ब्याक्तिगत आस्थालाई स्थान दिँदैंन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । आधारभूत रुपमा एनआरएनए सबै प्रकारका फूलहरूको सुन्दर बँगैचा हो । यो मौलिक एजेन्डाहरूको साझा फोरम हो । यसभित्र पसिसकेपछि आस्था स्वतः निस्क्रिय हुनुपर्छ र हाम्रा साझा एजेन्डा प्रवाहित हुनुपर्छ । कुरा यत्ति हो ।

० निर्णय गर्ने कुरामा तपाई पूर्वअध्यक्षको भर पर्नुहुन्छ रे, हो ?
– हाम्रो संगठनमा टिमको निर्णयलाई प्रधान मानिन्छ । त्यसपछि अध्यक्षात्मक रोलको नेतृत्वदायी भूमिका हुन्छ । सबैले बुझेको कुरा हो यो । म त्यो नेतृत्वदायी रोलमा पुग्न कोसिस गरिरहेको छु । म चिट चोरेर पास भएको विद्यार्थी हुँ जस्तो लाग्दैन । मेरो निर्णयले संगठन प्रवाहित हुने अवस्थामा मात्र त्यो आरोपबारे अनुमान गर्न सकिन्थ्यो । अग्रजहरूको सम्मानलाई अनावश्यक कुतर्कले गिजोलिरहनुको कुनै तुक हुँदैन । त्यस्ता कुनै सत्यता नभएका अफवाहका पछि नदौडिन म साथीहरूलाई पुनः विनम्र आग्रह गर्दछु ।

० एनआरएनएको आगामी लक्ष्यबारे केही भन्नु हुन्छ कि ?
– हाम्रा पूर्वअध्यक्ष आदरणीय शेष दाइको मेहनत, समस्त एनआरएन अग्रजहरूको सुझाव र नेपाली डायस्पोराको भविष्य समेटिएको आगामी कार्यदिशा नै ‘भिजन २०–२० एण्ड बियोण्ड’ हो । यो संगठनले अनुमोदन गरिसकेकोले यसलाई लागु गराउने निरन्तर प्रयत्न रहने छ । अनि अहिलेसम्मका उपलब्धिमा टेकेर अधिकारसम्पन्न नेपाली नागरिकताको लडाईंलाई हाम्रो एजेन्डाको शीर्ष महत्वमा राखिने छ । क्षेत्रिय सम्मेलनमा हुने खर्चलाई घटाउन र संसारभरी अप्ठ्यारोमा परेका नेपालीहरूको उद्वार गर्न सम्बन्धित सबै उपाय अवलम्बन गरिने छ । सबैलाई थाहा भएको कुरा हो, सन् २०११ मा भएको विद्रोहबाट नेता मोउमर गद्दाफी मारिएपछि उत्तर अफ्रिकी मुलुक लिबिया अशान्त छ । गत बुधबार दिउँसो (१८ असार) विद्रोही समूह द लिबियन नेशनल आर्मी (एलएनए)ले त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा हवाइ आक्रमण ग¥यो । सेन्टरमा रहेका ४४ जना आप्रवासी मारिए । १४३ जना घाइते भए । जुन घटनाले हामीलाई समेत झस्काइदिएको छ । दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ । तीमध्ये धेरैजसो मानवतस्करीको जालोमा परेर लिबिया पुगेका थिए ।

‘कुरियरबाट पठाउन ढिला हुने भएकाले दूतावासले आइओएमको कायरो कार्यालयमा उनको ट्राभल डकुमेन्ट पठाइदिएको थियो । तर सन्तोष नेपाल फर्किन सक्नुभएन । हवाइ आक्रमणमा पररेर उहाँ घाइते हुनुभयो । उपचारको क्रममा अस्पतालमा मृत्यु भयो । उहाँ लगायत डायस्पोरामा जीवन संघर्षको दौरानमा हामीबीच नरहनभएका तमाम नेपालीहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

यस्ता समस्याहरू अन्य देशमा पनि छन् । मध्यपूर्व तथा अफ्रिकाका निर्मम र संवेदनशील स्थानसम्म हाम्रा चेलीहरू बेचिएका छन् । तिनीहरूको अवस्थाबारे प्रशस्त सुचनाहरू बाहिर आएका छन् । उनीहरूको आपतकालीन उद्वारमा समेत सम्बन्धित देशका एनआरएनहरू लागिरहनुभएको छ । ती सबै साथीहरूप्रति सम्पूर्ण एनआरएनए आभारी छ ।

एक नेपालीको जीवन बचाउनु भन्दा ठुलो हाम्रो कुनै अर्को कर्म हुन सक्दैन । अतः एनआरएनले विश्वका हरेक देशमा रहेका दूतावासलाई नेपालीहरूको अबस्थाबारे थाह पाएसम्मका सुचना उपलब्ध गराएका छन् । उद्वारमा अहम भूमिका निभाएका छन् । त्यसमा डायस्पोरामा रहेका नेपाली पत्रकारहरूको समेत अग्रणी भूमिका रहेको छ । नेपालीहरू जोखिममा परेका समस्याहरू दक्षिणी अमेरिका, अफ्रिका र मध्यपुर्व दक्षिणपुर्वी एसियामा अत्याधिक छन् भने अलिअलि युरोपमा पनि देखिन थालेका छन् । एनआरएनएले गर्नुपर्ने कामहरू अनगिन्ती छन् । इमान्दार नेतृत्व र निःस्वार्थ टिम भयो भने यी कामहरू धेरै हदसम्म गर्न सकिन्थ्यो भन्ने मलाई लाग्छ । अर्कोतर्फ समाजमा लुकिछिपी बसेका ठग वा कुतत्वहरूको विरुद्ध सबै सचेत हुनुपर्छ । ठगहरूको फन्दामा परेर जीवन मरणको संघर्ष गरिरहेका नेपालीहरूको उद्वारको लागि पहल र सचेत अभियानहरू चलाउन सकिन्छ । कुनै पनि खाले खराब प्रवृत्तिलाई क्रमशः निरुत्साहित गर्दै जानुपर्छ भन्ने मेरो कुराको सार हो ।

त्यस्तै हाम्रा कार्यशैलीहरू अलिक परम्परावादी र ढर्रावादी भए भन्ने आरोप छ । अब त्यसको समीक्षा र रुपान्तरण अनिवार्य भएको छ । नेपाल सरकारको समृद्धि अभियानमा सक्दो सहयोग पुऱ्याउने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने हाम्रो लक्ष निरन्तर यथावत छ । कृषि, शिक्षा, उद्योग लगायत नेपालको समग्र सिष्टमलाई आधुनिक प्रविधि सहित रुपान्तरण गर्न हामीले नेपाल सरकालाई सदैव मद्दत गर्न सक्नुपर्छ । खास गरेर यिनै कुराहरू महत्वपुर्ण हुन् जस्तो लाग्छ ।

० अन्तमा थप केही ?
– अब हाम्रो संगठनभित्र शैलीगत र कार्यक्रमित रुपान्तरणको जरुरी छ । नेपाल र डायस्पोराका नेपालीको सन्दर्भमा हाम्रा जिम्मेवारी थपिँदै गएका छन् । त्यसैले हामी सदैव भविष्यप्रति आशावादी बन्दै अघि बढ्नुको विकल्प छैन । प्रवासमा संघर्ष गर्दागर्दै केही नेपालीहरूले आफ्नो जीवन गुमाउनुभएको छ । त्यस्तै धेरै साथीहरू कठिन अवस्थामा प्रवासमा संघर्षरत हुनुहुन्छ । ती सबै साथीहरूको परिवारमा समेत हामीले परोपकारी अभियानमार्फत राहत पु¥याउन सक्छौँ । नेपाल र नेपालीको जीवनभन्दा मूल्यवान हाम्रो लागि केही छैन । त्यसैले हाम्रो वर्तमान अवस्थाबाट आर्थिक सवलीकरणसहितको रुपान्तरणलाई अबको गन्तब्य बनाउनुपर्छ जस्तो लाग्छ ।

अन्त्यमा सबै एनआरएनहरू मेरा गुरु, सहकर्मी र साथीहरू हुन् । उनीहरूका सुझाव, सल्लाह र समीक्षाहरूले हामीलाई मार्गदर्शन गरिरहने छ । हाम्रा एजेन्डा साझा छन् र सामुहिक प्रयत्नबिना ती एजेन्डा पुरा हुन सक्दैनन् । त्यसैले उहाँहरूकै समर्थनमा हाम्रा एजेन्डाहरूको उचित सम्बोधनको लागि मेरो सहज उम्मेदवारीलाई अनुमोदन गरिदिनु हुनेछ भन्ने मैले आशा लिएको छु । मेरो विचार सम्प्रेषणको लागि घटना र विचार साप्ताहिकलाई हार्दिक नमन ।