अत्यधिक कामले अधिकांश जापानीमा रोगको समस्या

अत्यधिक कामले अधिकांश जापानीमा रोगको समस्या


जापानमा अपांगता भएका व्यक्तिलाई रोजगारीका क्रममा विभिन्न समस्या सिर्जना हुने गरेको पाइएको छ ।

जापानको श्रम तथा समाज कल्याण कार्यालयले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु र अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् ।

सन् २०१८ मा कार्यरत अपांगता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६.३ प्रतिशतले कामका सिलसिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ । उनीहरूले काम र उपचारको सन्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताले जनाएका छन् ।

तर, सर्वेक्षणमा सहभागीमध्ये ८४.५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए । अहिले काम नगरिरहेकाहरूमध्ये ६४.२ प्रतिशतले पनि आफूहरू काम गर्न चाहिरहेको बताएका थिए ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा एक हजारजना सहभागी भएका थिए । तीमध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरू २० देखि ६४ वर्ष उमेर समूहका नागरिक थिए ।