भारी वर्षाका कारण वासिङ्टनडीसी डुबानमा

भारी वर्षाका कारण वासिङ्टनडीसी डुबानमा


अमेरिकाको वासिङ्टनडीसी अत्यधिक वर्षाका कारण डुबानमा परेको छ । वासिङ्टनडीसी र यस आसपासमा सोमबार आएको अत्यधिक वर्षाका कारण डुबान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो ।

राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीका कारण सडक तथा घरहरू डुबेका छन् ।

अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेलसेवा पनि प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

अचानक आएको वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउससमेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपूर्ण दस्तावेजहरू रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।