बेनी-जोमसोम-कोराला सडक कालोपत्रेको पर्खाइमा…

बेनी-जोमसोम-कोराला सडक कालोपत्रेको पर्खाइमा…


  • छविलाल बगाले

बेनी–जोमसोम–कोराला सडक कालोपत्रेको पर्खाइमा छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना जोड्ने यो सडक निर्माणमा भने ढिलाई भइरहेको छ । ठेकेदर म्याद थप्ने योजनामा छ भने मुस्ताङबासी तोकिएकै समयमा काम सक्नुपर्ने अडानमा छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाकासम्म पुग्ने सडकको निर्माण तिब्र पारिएको छ । अहिले म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम र कोरलातर्फको १ सय ८६ किलोमटिर सडक निर्माणको काम एकसाथ भइरहेको हो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति छ । यसै आर्थिक बर्षमा बेनी–जोमसोम सडक कालोपत्रे गर्ने लक्ष्य राखेपनि पुल निर्माण ढिलो भएकोले यसबर्षको कालोपत्रे नहुने भएको छ । स्याङ खोला, दाना, बोक्सेखोला लगायत एक दर्जन स्थानमा पुल निर्माण ढिलोगरी भइरहेको छ । सडक निर्माणमा भएको ढिलाईप्रति जिल्लाबासी भने खुसी नभएको स्थानीय गोविन्द शेरचनको भनाई छ ।

अहिले बेनीको गलेश्वरदेखि कोरलासम्म ८ खण्डमा काम भइरहेको छ । सडक निर्माणको काम ३ बर्षमा काम सक्ने गरी सडक विभागसँग सम्झौता भएको थियो । तर काम गर्ने समय ६ महिनामात्रै बाँकी रहँदा निर्माण कम्पनी भने म्याद थप गर्ने तयारीमा छ । मुस्ताङ स्थानीय समेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीले भने म्याद थप गर्न दिन नहुने बताउँछन् ।


अहिले बेनीदेखि मुस्ताङको लेतेसम्म सडक स्तरोन्नतीको काम भइरहेको छ भने लेतेदेखि जोमसोमसम्म ग्राभेल भइरहेको छ । पूर्वमन्त्री गौचनले जोमसोमदेखि कोरलासम्मको सडक कालोपत्रे गर्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन् । ‘बेनी–जोमसोम सडक खण्डमा अब कसैले केही गर्नुपर्दैन् । जति गर्नुपर्ने मैले र मेरा मित्र श्रीमाया थकालीले ग¥यौं ।’ पूर्व मन्त्री थकालीले भने, ‘अब नयाँ नेतृत्वले काम गरेर देखाउने हो भने जोमसोम–कोरला नाका सडक कालोपत्रे गर्नुपर्छ । अरुले गरेको काममा मैले गरेको भन्ने कुप्रचार नयाँ नेतृत्वले बन्द गनुृपर्छ ।’ पूर्वमन्त्री थकालीले भने, ‘नयाँ नेतृत्वले जोमसोम–कोरला नाका सडक कालोपत्रे गरे म आफैं प्रचार गरिदिन्छ ।’

मुस्ताङी जनताको माग, मुस्ताङमा भएको स्याउ खेती, मुक्तिनाथ मन्दिर, कोरला नाका लगायतका कारण जिल्लामा सडक पुगेको पूर्व मन्त्री थकालीको भनाई छ । ‘सिंहदरबारले पनि जिल्लामा सडक लैजाने नसोचेका बेला मैले बाटोको धारणा बनाएको हुँ ।’ उहाँले भन्नुभयो, ‘जिल्लाको सडक निर्माणमा म्याद थप भए मुस्ताङी जनतामाथि न्याय हुँदैन् ।’


तातोपानी र केरुङ नाकासम्मको सडक साँघूरो र कमजोर भइरहेका बेला जोमसोमदेखि कोरलातर्फ ११ मिटर फराकिलो सडक निर्माण भइरहेको छ । २०६४ मा नेपाली सेनाले ट्रयाक खोलेर २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची अवस्थामा छ । जोमसोम–कोरलाखण्डको विसं २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको हो । दुई अर्ब ५० करोडमा ठेक्का पाएका निर्माण कम्पनीले समयमा पुल निर्माणको काम नसक्दा मुस्ताङबासी आक्रोशित भएका छन् । बेनी–कोरला सडक कालोपत्रे भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने स्थानीयको अपेक्षा छ ।