पर्यटन प्रवर्द्धनको लागि ओमानमा अन्तरक्रिया

पर्यटन प्रवर्द्धनको लागि ओमानमा अन्तरक्रिया


■ आरके श्रीवास्तव, ओमान

ओमानस्थित नेपाली दुतावासद्वारा राजदूत निवासमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को लागि ‘पर्यटन प्रवर्द्धनमा खाडी मुलुकमा रहेका नेपाली समुदायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।

यही असार २० (५ जुलाई)का दिन ओमान र नेपालको राष्ट्रिय गानसँगै सुरु भएको अन्तरक्रिया ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र प्रमुख अतिथि नादिरा अल हार्थीले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।

अतिथिहरूको स्वागत गर्दै श्रम सहचारी कृष्णकुमारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा नादिरालाई बधाई ज्ञापन गर्नुभयो । साथै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटन प्रबर्द्धनका लागि सरकारको नीतिबारे पनि प्रकाश पार्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित नेपाली समुदायले पर्यटन प्रवरद्धनको सन्दर्भमा विभिन्न धारणाहरू राखेका थिए । उपस्थितमध्ये केहीले ओमानको सडक छेउमा होर्डिङ बोर्ड राख्न, सार्वजनिक यातायातमा विज्ञापन राख्न, ओमानी र अङ्ग्रेजी भाषामा लेखिएका ब्रोसर तथा पर्चाहरू वितरण गर्न, मस्कट महोत्सव र ओमानका अन्य पर्यटन प्रबर्द्धनका कार्यक्रममा सहभागी हुन, नेपाली पर्यटनसम्बन्धी लेखहरूका लागि ओमानी पत्रकारलाई स्पोन्सर गरी नेपाल भ्रमण गराउन, ओमानका ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी नेपाल टुर प्याकेज बनाउन, ओमानमा कार्यरत प्रत्येक नेपालीले कम्तीमा दुईदेखि तीनजना ओमानी नागरिकलाई नेपाल भ्रमणको लागि आह्वान गर्ने लगायतका सुझावहरू राखेका थिए ।

कार्यक्रममा राजदूत ढकालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थीलाई कदर–पत्र प्रदान गर्नुभयो । सगरमाथा आरोहणमा दुई वर्षको लगातार मेहनतको स्मरण गर्दै अल हार्थीले विश्वको सर्वोच्च शिखरमा पाईला टेक्दाको अनुभव सुनाउनुभएको थियो । ओमानका पर्वतारोही विद्यार्थीका लागि शेर्पाहरूलाई प्रशिक्षकको रूपमा ओमान ल्याउन सकेको खण्डमा ठूलो सहकार्य हुनसक्ने सुझाव उहाँले राख्नुभएको थियो । आफ्नो मिसनको दौरानमा उहाँले अमुल्य सहयोग र सहकार्य गरेकोमा राजदूत एवम् दुतावासका साथै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

ओमानमा रहेको नेपाली समुदायले पनि अल हार्थीको सफलताको कदर गर्दै नेपाली हस्तकला, खादा र खुकुरी प्रदान गरेको थियो ।

राजदूत ढकालले मन्तव्य राख्ने क्रममा अल हार्थीको सफल प्रयासको लागि सधन्यवाद बधाई दिँदै ओमानमा नेपालको पर्यटन प्रवर्द्धनमा नेपाली समुदायको महत्वपूर्ण भूमिका रहने र यसलाई सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो ।

प्रमुख अतिथि र नेपाली समुदायसहित करिव पचास अतिथिहरूको उपस्थिति रहेको सो कार्यक्रमको समापनमा नेपाली मौलिक खानाको व्यवस्था गरिएको थियो ।