साढे ६१ रोपनी क्षेत्रफलमा नेपाल राष्ट्र बैंकको नयाँ भवन बन्दै

साढे ६१ रोपनी क्षेत्रफलमा नेपाल राष्ट्र बैंकको नयाँ भवन बन्दै


२०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित भएको बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवन बन्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहबीच नयाँ भवनको शिलान्यास गर्नुभएको छ ।

भवन शिलान्यासकाअवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गर्नुभयो ।

उहाँले आमनेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

‘कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।’

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो भने बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाउनुभयो ।

कूल रु दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।