शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी

शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी


संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार विहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

करिव २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीबार ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको थियो । सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान त्यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए ।

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)लाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको पराकम्पन आएको छ । बिहीबार साँझको सो पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको थियो ।

गत बिहीबारको भूकम्पपछि करिब ८० ओटा पराकम्पनहरु आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ ।

दुइ दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करिब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ ।

तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन । केही मानिस घाइते भएका समाचारमा आएको छ ।

भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन् ।

उनीहरुकाअनुसार उद्धारको काम जारी छ । अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको जानकारीमा उल्लेख छ ।