‘प्रधानमन्त्री ओली विहान उठ्दा देशभक्ति, साँझ दिल्लीभक्ति’

‘प्रधानमन्त्री ओली विहान उठ्दा देशभक्ति, साँझ दिल्लीभक्ति’


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे । उनले भने,‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो । विहान उठ्दा देशभक्तीको कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ति बन्नुहुन्छ ।’

नेता गुरुङले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गर्दै भने, ‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले विहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुने बित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ । उहाँलाई कतिवेला के मुड चल्छ ? थाहै हुँदैन् ।’

गुरुङले आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीवादी चरित्र देखाएको पनि आरोप लगाए । उनले भने,‘चर्को विवाद भएपछि आईफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो ।’

नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्ने बताउँदै कसैलाई खुशी तुल्याउनको लागि जे मन लाग्यो त्यही निर्णय गर्न नहुने उनको भनाई छ । उनले भने,‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन् । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं । सरकार नालायक भयो ।’

वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको भारी बोक्न नसक्ने उनको ठोकुवा छ । उनले भने,‘दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ ।’ सरकारका गलत काम र क्रियाकलापका कारण सरकारविरुद्ध आन्दोलनका आधारहरु पनि प्रशस्तै तयार भएको गुरुङले जनाए । उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले सरकारविरुद्ध आन्दोलन आजको आवश्यकत्ता भैसकको पनि सुनाए ।
गुरुङले आफ्नो पार्टीभित्र पनि अहिले किचलो रहेको स्विकार गरे । उनले भने,‘हो, म ढाँट्दिन, हाम्रो पार्टीभित्र पनि आन्तरिक किचलो छ । नेतृत्वको बीचमा हानाथाप छ ।’ उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकत्ता औंल्याए । २०७९ मा स्थानीय तहको निर्वाचन हुने भएकोले आगामी २०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि उनले सुनाए । उनले भने,‘२०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न सकियो भने उपलब्धिमूलक हुन्छ ।’

कांग्रेसमा गणेशमान सिंह, विपी कोईराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरजस्ता नेताहरु नभएका कारण किचलो हुनु र नेतृत्वको लागि होडबाजी चलेको उनको भनाई छ । अहिले नेतृत्वदायी भूमिकामा बसेका नेताहरुले एक आपसमा सिँगुरे खेलेर बसिरहे आफूजस्ता युवा नेताहरल्े नेतृत्वको लागि अब कदम चाल्नेपनि उनको उद्धघोष थियो ।
पार्टीको झण्डामा रहेको चार तारामध्ये एक ताराले धार्मिक स्वतन्त्रताको वकालत गरेकोले अहिले हिन्दूराष्ट्रको गुञ्जायस नभएको गुरुङको भनाई छ । उनले भने,‘नेपालमा गणतन्त्रको विकल्प छैन । बरु, यो भ्रष्ट सरकारको विकल्प छ । किनकी यो सरकार भ्रष्टाचारी, राष्ट्रघाती र नालायकी परिचित छ ।’

अर्का केन्द्रिय सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । उनले भने,‘यो सरकार पाँच वर्षको लागि हो । त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ । हामी स्थिरताको पक्षमा छौं । हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं ।’

घिमिरेले आफ्ना पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकार ढाल्छौं नै भनेर अभिव्यक्ति नदिएको जिकिर गरे । उनले भने,‘उहाँले पनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नुभएको हो । तर, सरकार नै ढाल्छु भनेर अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन् ।’
उनले आजबाट सुरु हुने कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा गम्भिर र महत्वपूर्ण विषयमा छलफल हुने विश्वास दिलाए । उनले भने,‘सम्भवतः आजबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठक केही दिन लामो चल्छ, र यो टर्निङ प्वाईन्ट हुनेछ । कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दैछ । अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदैछन् ।’
त्यस्तै, उनले अब महाधिवेशनको प्रक्रिया पनि सुरु हुने जनाए । उनले भने,‘महाधिवेशनको लागि सदस्यता वितरणको काम जो छ, अब अघि बढ्छ ।’ यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै नगर्ने जिकिर गरे । उनले भने,‘हामी धर्मसापेक्ष नीतिअनुसार अघि बढ्छौं । यसपालिको बैठकमा धर्मको विषयले प्रवेश पाउँदैन् । तपाईहरु ढुक्क हुनुहोस् ।’

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलमात्रै नभएर यसपटकको बैठकपछि सबै नेतृत्वमा बसेका नेताहरुबीच एकता हुने पनि उनले विश्वास दिलाए । उनले भने,‘पार्टीका कार्यक्रम, नीति र एजेण्डा सबैमा एकमत हुन्छ ।’ सभापति देउवापनि महाधिवेशन समयमै गर्नुपर्नेबारे प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

अर्का केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले आजबाट सुरु हुने बैठकमा धेरे विषयमा गहन छलफल हुने र त्यसमा पनि हिन्दूराष्ट्रको विषय उठ्ने स्पष्ट पारे ।
उनले भने,‘बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारेपनि विश्लेषण हुन्छ ।’ पछिल्लो समय हिन्दूराष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषयपनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जनाए ।
महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दूराष्ट्रको एजेण्डा उठाएको सुनाए । उनले भने,‘बैठकमा मैले यो विषय प्रवेश गराउँछु । यो नेपाली कांग्रेसको भविष्यसँग मात्रै नभएर सिँगो मुलुकको भविष्यसँग जोडिएको छ । अब विलम्ब नगरी पार्टीले हिन्दूराष्ट्रको बारेमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ ।’ भण्डारीले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘अब व्यक्तिवादी चरित्रले काम गर्दैन् ।’

केन्द्रिय सदस्य तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले केन्द्रिय कार्यसमितिको बैठकले नेताहरुबीच एकता कायम गर्ने स्पष्ट पारे । उनले भने,‘हाम्रा नेताहरुबीच एकता हुन आवश्यक छ । आम जनताले पनि त्यही चाहना राख्नुभएको छ ।’

यादवले बैठकमा पार्टीको विधान पारित भैसकेकोले अब नियामावलीको प्रस्ताव आउनेपनि सुनाए । उनले भने,‘पार्टीको संरचना बनाउने कोशिस भैरहेको छ । त्यसका बारेमा पनि प्रस्ताव आउँछ ।’