तारादेवी र अरुणा लामाका गीतले ढाकियो पोखराको आकाश

तारादेवी र अरुणा लामाका गीतले ढाकियो पोखराको आकाश


स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामा दुवै यस संसारमा छैनन्, तर यी दुवै विख्यात गायिकाप्रति समर्पण गरिएको सांगीतिक कार्यक्रमले शनिबार पोखराको आकाशलाई ढपक्कै ढाक्यो ।

पोखरेली सुगम संगीतमा समर्पितत गायीकाहरूले तेश्रो संस्करणका रुपमा आयोजना गरेको ‘रारा टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा’ कार्यक्रममा गाएका गीतले पोखराको सांगीतिक आकास ढकमक्क ढाकेको हो ।

स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौं आाफ्नै पनमा..’ गीतलाई १२ जना पोखरेली गायिकाको सामुहिक स्वरले गुञ्जायमान बनाउँदै सुरु भएको कार्यक्रम करिव तीन घण्टासम्म निरन्तर अरुणा लामा र तारादेवीका गीतहरूमा पोखरेली सांगीतीक मन रमेका थिए ।

पोखेली सुगम संगीत गायीकाहरूको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले आयोजना गरेको सो सांगीतिक कार्यक्रममा तीनजना कलाकारहरुलाई सम्मान पनि गरेको छ । दार्जलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्णदासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान गरिएको थियो ।

सम्मानलगत्तै उमेरले ८० पुग्न लागेकी गायिका दावा ग्याल्मोले ४० वर्षअगाडी लाहुरेनी हुँदै हङकङ पुगेको समयमा रेकर्ड गरिएको गीत ‘मेरो यो सानो संसारलाई ठुलो वनाउन चाहन्न .’ गाएपछि सांगीतिक कार्यक्रममा रौनक बढेको थियो । सम्मानले आफ्नो जवानी सम्झाएको भन्दै गायिका दावाले एक वर्षभित्र एल्वम निकाल्ने प्रतिबद्धता पनि जनाइन्् । उनले भनिन्– ‘उमेरसँगसँगै स्वरमा केही उतरचढाव हुन सक्छ तर आँट र जोशमा कुनै कमी हुदैन, यो सम्मानको सम्मान गर्दै अब चाँडै एउटा एल्वम निकाल्छु ।’

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम संगीत गायकहरूको उत्थान र प्रबर्द्धनमा समर्पित संस्था भएकाले सबैको सहयोगले गर्दा कार्यक्रम सहज रुपमा आयोजना गर्न सकेको जानकारी दिइन्् ।

कार्यक्रममा उपाध्यक्ष कौशल्या गुरुङले यो कार्यक्रम दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामालाई ‘ट्रिब्युट’ गरेको पनि जानकारी दिइन् । उनले भनिन्– ‘साँगीतिक कार्यक्रममा हामीले दुई दर्जन भन्दा बढी अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीत प्रस्तुत ग¥यौँ ।’

कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन जक्सन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले सम्पुर्ण व्यवस्थापकीय र प्राविधिक पक्षमा व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।

सांगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए । ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ लगाएतका गायिकाहरुले कार्यक्रममा प्रस्तुति दिने छन् । त्यस्तै, सहयोगी कलाकारहरुको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुति रहेको थियो ।

हार्मोनीले सुगम संगीतका क्षेत्रमा रुचि भएका तर अवसर र बिभिन्न परिस्थितिबाट आफ्नो कला प्रस्तुत गर्न नपाएका महिला गायिकाहरुलाई पनि प्रोत्साहन र स्टेज प्रदान गर्दै आएको छ । शनिबार भएको कार्यक्रममा पनि पहिलोपटक गृहिणी रुमा तुम्रिहाङ राईले आफ्नो प्रस्तुति दिइन् । उनले भनिन्– ‘विवाह गरेपछि आफ्नो रुचिलाई गुम्साउन बाध्य भए पनि हार्मोनीको प्रेरणाले आज जीवनमै पहिलोपटक यति धेरै मान्छेको अगाडी गाउन पाएँ ।’ उनले अको रहश्य खोल्दै भनिन्– ‘मेरो घरमा त मैले गीत गाउँछु भन्ने थाहा पनि छैन ।’ उनले अब गायनलाई निरन्तरता दिने बताइन् ।

सुगम संगीतका क्षेत्रमा जीवन अर्पन गरेका महिलाहरुसँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो र फराकिलो वनाउनले लक्ष्यका साथ २०७३ सालमा ‘हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ नामक संस्था स्थापना भएको हो ।