मुस्ताङको मुक्तिनाथ : जहाँ पुग्न पर्यटक मरिहत्ते गर्छन्

मुस्ताङको मुक्तिनाथ : जहाँ पुग्न पर्यटक मरिहत्ते गर्छन्


मुस्ताङको मुक्तिनाथ क्षेत्र मन नपराउने सायद कमै होलान् । मुस्ताङ पुग्ने स्वदेशी र विदेशी दुवैथरी पर्यटकलाई यस क्षेत्रले मन्त्रमुग्ध पारिदिन्छ । मुस्ताङ एउटा जिल्लाको नाम मात्र होइन, यो विश्वकै दसौं स्थानमा पर्ने पर्यटकीय गन्तव्य पनि हो । यहाँको धार्मिक, सांस्कृतिक र प्राकृतिक रसास्वादन गर्न देश विदेशका पर्यटक मरिहत्ते गर्ने गर्दछन् ।

पहिलेजस्तो हिजोआज मुस्ताङ पुग्न कठिन यात्रा पनि गर्नुपर्दैन् । म्याग्दी सदरमुकाम बेनीबाट ४ घण्टाको मोटर यात्रापछि मुस्ताङ सदरमुकाम जोमसोम पुग्न सकिन्छ ।

अहिले बेनी–जोमसोम सडकखण्डको कालोपत्रे गर्ने तयारी पनि चलिरहेको छ । मुस्ताङको लेतेदेखि जोमसोमसम्म सडक ग्राभेल गरिएको छ । जसका कारण सवारीसाधनलाई थप सहजता मिलेको छ ।

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र नेपालीमात्रै नभई भारतलगायत अन्य मुलुकका पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गतबर्ष मात्रै २५ हजार बढि भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ पुग्ने गर्दछन् । पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई पनि भ्याइनभ्याइ छ ।

पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ । यस्तै, मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ ।

मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । विदेशी पर्यटकहरुको ठूलो संख्या पोखराबाट सिधै हवाईमार्ग हुँदै पनि जोमसोमसम्म पुग्ने गर्दछन् । हवाई मार्गमार्फत मुस्ताङ जान पोखराबाट १८ मिनेट लाग्दछ ।

मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि उत्तिकै छन् ।

हिमालपारीको जिल्लाको नामबाट समेत चिनिने मुस्ताङ जिल्ला धैलागिरी र निलगिरी दुई अग्ला हिमाशिखरको काखमा अवस्थित छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमासमेत ख्यातिप्राप्त यस क्षेत्रको मनोरम प्राकृतिक छटाको कसैले बयानसमेत गर्न सक्दैन ।

कालीगण्डकीको उद्गमस्थल मुक्ति क्षेत्र मुक्तिनाथ, केदारनाथ र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि हो । ३ हजार ८ सय मिटरको उचाईमा रहेको मुक्ति क्षेत्रमा विशेषगरी आन्तरिकका साथै सार्क मुलुक र विश्वका अन्य देशका नागरिक पर्यटकका रुपमा पुग्ने गर्दछन् ।