११ महिनामा बाह्य मुलुकसँगको व्यापार घाटा १३ खर्ब नजिक

११ महिनामा बाह्य मुलुकसँगको व्यापार घाटा १३ खर्ब नजिक


बाह्य मुलुकसँगको व्यापार घाटा हरेक बर्ष बढ्दो छ । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले १३ खर्बको बस्तु आयात गरेको छ । कमजोर निर्यातका कारण बर्षेनी नेपाल व्यापार घाटाको चुंगलबाट बाहिर निस्किन सकेको छैन् ।

चालु आर्थिक वर्षका एघार महिनामा मात्रै नेपालले १३ खर्बको व्यापार घाटा व्यहोर्नुपरेको हो । नेपालले बाह्य मुलुकमा ६ रुपैयाँको वस्तु निर्यात गर्दा ९४ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । अहिले १३ खर्ब रुपैयाँ बराबरको वस्तु नेपालले आयात गरेको तथ्यांक भन्सार विभागसँग छ । जुन गत आर्थिक बर्षको तुलनामा १७.४५ प्रतिशतले वृद्धि भएको हो ।

तथ्यांकलाई आधार मान्दा नेपालको पाँचवटा देशसँग बढि व्यापारघाटा छ । सबैभन्दा धेरै व्यापारघाटा भारत, चीन, युनाइटेड अरब इमिरेट्स, फ्रान्स र इन्डोनेसियासँग छ । नेपालले ११ महिनमा १३ खर्बको वस्तु आयात गर्दा भारतबाट मात्रै ८ खर्ब ४१ अर्ब ६७ करोडको वस्तु आयात गरेको हो ।

नेपालले भारतबाट ८ खर्ब ४१ अर्ब ६७ करोडको वस्तु आयात गर्दा ८७ अर्ब ८३ करोड ४९ लाख बराबरको वस्तु निर्यात गरेको छ । जुन आयातको तुलनामा निर्यात निकै कमजोर हो । यस्तै चीनबाट पनि चालु आर्थिक बर्षको ११ महिनामा १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख वस्तु आयात भएकोमा नपालले १ अर्ब ९६ करोड ४९ लाख बराबरको वस्तु निर्यात गरेको छ । उता, युनाइटेड अरब इमिरेट्सबाट नेपालमा ३२ अर्ब २८ करोडको ३१ लाखको वस्तु आयात हुँदा नेपालबाट ३१ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

यस्तै, सोही अवधिमा फ्रान्सबाट १९ अर्ब ५२ करोडको वस्तु आयात गरिएको थियो भने नेपालले मुश्किलले १ अर्ब १६ करोडको वस्तु निर्यात गरेको तथ्यांक भन्सार विभागसँग छ । विभागका अनुसार इन्डोनेसियाबाट नेपालले १६ अर्ब ६२ करोड ७७ लाखको आयात गर्दा नेपालबाट भने १ करोड १७ लाख बराबरको वस्तु निर्यात गरेको हो । नेपालले कुनै एक वा दुई बर्षमा बाह्य मुलुकसँगको व्यापार घाटा घटाउन नसकिने अर्थविद् नरबहादुर थापाको धारणा छ । उनले नेपाल सरकारले बलियो नीति र कार्यक्रम बनाएर अघि नबढेसम्म बाह्य मुलुकसँगको नेपालको व्यापार घाटा बढिरहने बताउँछन् ।

सरकारले व्यापार घाटालाई न्यूनिकरण गर्ने गरी स्वदेशभित्रै उत्पादन बढाउने योजना ल्याउँछ तर कार्यान्वयन नहुँदा परनिर्भरता बढेको छ । नेपालमा क्यानडा, मलेसिया, स्विजरल्यान्ड, युनाइटेड स्टेट, भियतनाम, अर्जेन्टिना, युक्रेन लगायत १५७ मुलुकबाट सामान आयात हुँदै आएको छ । विदेशी आयातलाई प्रतिस्थापन गर्न सरकारले उत्पादनशिल क्षेत्रलाई वेवास्ता गरेको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाई छ ।

अहिले स्वदेशभित्रै ठूला खालका उद्योगधदा नहुनु र वस्तु उत्पादनमा सरकार कमजोर हुँदा नेपालले भारतसँग मात्रै ७ खर्ब ८५ अर्ब ८ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ । यस्तै, चीनसँग १ खर्ब ८४ अर्ब ६३ करोड ९३ लाख, युनाइटेड अरब इमिरेट्ससँग ३१ अर्ब ९६ करोड, फ्रान्ससँग १८ अर्ब ३५ करोड र इन्डोनेसियासँग १६ अर्ब ६० करोड ८३ लाखको व्यापार घाटा छ ।

मुलुकभित्र वस्तु उत्पादन नहुँदा हरेक बर्ष बाह्य मुलुकसँगको व्यापार घाटा बढ्दो छ । सरकारले पनि अत्यावश्यक वस्तुबाहेक अन्य वस्तु आयात घटाउने नीतिअनुरुप मोटर र यसका पार्टस खरिदमा कडाई थालेको छ । यसका साथै विद्युतीय सवारी र उपकरणमा जोड दिने हो भने इन्धन आयातमा समेत कमी आई बाह्य मुलुकसँगको व्यापार घाटा घट्ने विज्ञको सुझाव छ ।