असारको रोपो/मंसिरको धोको

असारको रोपो/मंसिरको धोको


■ रामेश्वर राउत मातृदास

हिमाल पहाड तराई हाम्रो जीवनको ढुकढुकी
अदम्य हाम्रा आत्मीला अग्नि नकाँप लगलगी
घाम पानी हाम्रो जीवन राम्रो हृदय धानबाली
हामी नै हाम्रा रक्षक बनौं हामी नै हौं माली ।।१।।

हिमाल उठौं पहाड जुटौं तराई फाँटिला
धरतीको भार मेटाई छाड्ने नेपाली आँटिला
एऽ हैनौं हामी भिखारी भिक्षा दयाका दोबाटो
अमूल्य एहीं छन् हिरा र मोती नेपालको एही माटो ।।२।।

आँखाको भाका लाखा र पाखा दृष्टि छन् अँधेरो
जीन धान्न मुटुको धड्कन मनै हो पँधेरो
बिर्सेर छाती पुगिन्न माथि सिमलको भुवाभै
आकाश ओत्ने सहारा एही चाहिन्छ धरतीकै ।।३।।

सारहीन भए जिन्दगी पनि बन्ने छ असार
वैरीले आई मोलेर डल्लो पार्ने छ कसार
एऽ हामी हाम्रा वीरका सन्तान सृष्टि नै हाम्रो फाँट
के हुतिहारा भएर बस्ने बिर्सेर जिम्दो आँट ।।४।।

झ्याउँकिरी झ्याँउझ्याँउ बाँसुरी धुन कृष्णको आसन
धानका बाला कल्पन्छन् मन अनिकाल मासन
नेपाली आँट उत्सव किन सेलायो घरदेशमा
जन्मेका जति छाडनै खोज्छन् पोखिन परदेशमा ।।५।।

जननी जन्मभूमिलाई कठै ! बनाई बेहाल
के जन्म लिनु पराइको पाउमा मर्नलाई अकाल
बेठीका बाजा बजाउने फाँट हिमालको आँगन
अठासी हजार जागरण ऋषि गएनन् मागन ।।६।।

असारको रोपो मंसिरको धोको फूलपाती हृदय
अनाजमै जीवन उन्नत बन्छन् राष्ट्रको होस् जय
घामको झुल्को लम्केर फाँटमा किसान नाँच्दछन्
माटोको प्रीत खन्याई खुशी जीवन बाँच्दछन् ।।७।।

– रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती