ग्लोबल आईएमई र जनता बैंकबीच बिग मर्जर सम्झौता

ग्लोबल आईएमई र जनता बैंकबीच बिग मर्जर सम्झौता


नेपाल राष्ट्र बैंकले ठूला बैंकहरूलाई मर्जरमा जान निर्देशन दिएको नौ दिनमै यसको शुरुवात भएको छ । शुक्रबार ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेसँगै यसको शुरुवात भएको हो ।

असार १२ मा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका अध्यक्ष र सीईओलाई बोलाएर मर्जरका जान पार्टनर खोज्न निर्देशन दिएलगत्तै ग्लोबल र जनताले मर्जरका लागि प्रक्रिया अघि बढाएका थिए ।

ग्लोबल र जनताबीच मर्जरमा जाने सम्झौतापत्रमा सहमति भएको छ । शुक्रबार भएको सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि दुई बैंकबीच सेयरको बाँडफाँड कसरी गर्ने भन्ने टुंगो भइनसके पनि बैंकको नाम र सीईओको बारेमा भने सहमति भइसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई नै रहने भएको छ भने बैंकको कार्यकारी अधिकृतमा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्री रहने र ग्लोबल आईएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् ।