युनिभर्सियाड खेलकुदमा अनिताको उत्कृष्ट प्रदर्शन

युनिभर्सियाड खेलकुदमा अनिताको उत्कृष्ट प्रदर्शन


■ श्रीविक्रम भण्डारी (नेपोली, इटाली)

इटालीको नेपोली शहरमा आज (१९ असार) बिहीबारदेखि ३०औँ समर युनिभर्सियाड खेलकुद प्रतियोगिता औपचारिकरुपमा शुरु भएको छ । प्रतियोगितामा विश्वका १ सय ५४ राष्ट्रका ८ सय खेलाडीले सहभागिता जनाएका छन् । नेपालले यो प्रतियोगिता दुई खेल तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको छ ।

३०औँ युनिभर्सियाड खेलकुदमा फेन्सिङ खेलको महिला एकल इपीतर्फ नेपालकि अनिता कार्कीले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । असार १९ गते नेपोलीको हिप्पो क्राटिका सिभितामको इन्डोर कवडहलमा आयोजित पाँच खेलमा अनिताले उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय खेलाडीलाई कडा चुनौती दिइन् ।

आफ्नो पहिलो खेलमा विश्वकी चौथो वरियता प्राप्त फ्रान्सकी खेलाडी लुटी एलियासँग भिडन्त गरेकी अनिता उक्त खेलमा ५–२ को अन्तरले पराजित भइन् । दोश्रो खेलमा विश्वकी २१ वरियता प्राप्त इजरायली खेलाडी गाभ्रिइल्को निकोलसँग प्रतिस्पर्धा गरेकी अनिता यो खेलमा पनि ५–२ को अन्तरले पराजय भइन् ।

अनिताको तेस्रो भिडन्त हंगेरीकी खेलाडी सोन्का भलेरियासँग भएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अन्तिममा स्कोर गर्न नसक्दा अनिताले पराजयको मुख देख्नु पऱ्यो । यो खेलमा पनि अनिता ५–२ ले पराजित भइन् । त्यस्तै चौथौ खेलमा क्यानडाकी खेलाडी वोय टमारासँग ५–१ को अन्तरले पराजित भएकी अनिताले अन्तिम तथा पाँचौं भिडन्तमा उत्कृष्ट प्रदर्शन गरिन् । नर्वेकी खेलाडी हिल्ली थालेसँग भएको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५–४ ले पराजित भइन् । यो खेलमा जसले निर्धारित समयमा सबैभन्दा पहिले ५ अङ्क बटुल्छ त्यो खेलाडीलाई विजयी घोषित गरिन्छ ।

खेलपछि घटना र विचारसँगको कुराकानीमा अनिताले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामा सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गरेको बताइन् । सीमित स्रोत र साधनका बावजुद आफूले उत्कृष्ट प्रदर्शन गरेको र यो प्रतिस्पर्धाबाट निकै अनुभव बटुलेको बताइन् । नेपालमा पनि नियमित प्रशिक्षण र उपयुक्त प्रशिक्षण गर्ने व्यवस्था भए नेपाल पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने दाबी उनले गरिन् । साथै आफ्नो प्रदर्शनप्रति उनले खुशी व्यक्त गरिन् ।

त्यस्तै, यस प्रतियोगिताका सेभ द मिसन तथा विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी (टेकराज)ले अनिताको प्रदर्शन उत्कृष्ट भएको बताए । विश्वस्तरीय खेलाडीहरुसँगको प्रतिस्पर्धामा अनिताको प्रर्दशन प्रशंसनीय थियो भन्दै सीमित साधन र स्रोतका बाबजुद अनिताले उत्कृष्ट प्रदर्शन गरेको जोशीको ठहर थियो । यदि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पदक जिताउने हो भने राज्यले नै विशेष योजना र दुरदर्शीका साथ लाग्नुपर्ने बताए ।

त्यस्तै असार १८ गते इटालीको नेपोली रङ्गशालामा ३० औं समर युनिभर्सियाड खेलकुदको भब्य समारोहकाबीच उद्घाटन भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन इटालीका राष्ट्रपति सर्जियो मारेरेल्लाले गरेका थिए ।