ब्याइते-ल्याइतेभित्रको नेपाली संस्कृति

ब्याइते-ल्याइतेभित्रको नेपाली संस्कृति


■ गोविन्द रावत

शहरबजारमा अचानक हल्ला फैलियो । रेडियोबाट सूचना घन्किन थाल्यो । पत्रपत्रिकाले नयाँ स्वाद पाउन थाले । कुरा सानो भए तापनि हल्लाचाहिँ ठूलै मच्चिएको थियो । कुरा के थियो भने ‘घरवाली बहारवाली’ भन्ने हिन्दी चलचित्रलाई सामूहिक रूपमा बहिष्कार गर्ने । भर्खर जन्मेर वामे सर्न थालेको रेडियो सेवा एफएममा कार्यरत प्रस्तुतकर्ताको नवनिर्मित संस्था कोप्पनले शहरबजारमा रामै प्रोपोगाण्डा ग¥यो । अझ क्यासेट जलाएर भाषणबाजी पनि ग¥यो । कस्तो राष्ट्रप्रेम । कस्तो संस्कृतिप्रतिको आस्था । वास्तवमा यो हल्लाले नै गर्दा होला ‘घरवाली बहारवाली’ भन्ने हिन्दी चलचित्रको भिडियो क्यासेट हटकेकजस्तै चलिरहेको छ । मैले चिनेका एकजनाको भिडियो लाइब्रेरीमा त मानिसहरूले अग्रिम बुकिङसमेत गरेर बसेका छन् रे ।

जे होस्, ‘घरवाली बहारवाली’ चलचित्र नेपालमा हिट भएकै भन्नुपर्ला । अब यो हल्ला चलाउने संस्था कोप्पनले खै के देख्यो कुन्नि नत्रभने यस चलचित्र घरवाली (ब्याइतेभन्दा बढी बहारवाली (ल्याइते) को चरित्र सशक्त रूपमा चित्रित भएको छ र यो बहारवाली (ल्याइते) बेनकी छिन् नेपालकी एक सुन्दर युवती । अर्थात् चलचित्र नायकले भारतीय मूलकी श्रीमतीबाट सन्तान नभएपछि नायकले नेपाल भ्रमणमा आउँदा परिबन्दमा परी नेपाली युवतीसँग विवाह गर्न पुग्छन् । पछि उनीबाट सन्तान (छोरा) पनि हुन्छ । त्यही नेपाली मूलकी श्रीमतीबाट भएको छोरोको बालमनोविज्ञान देखाउने क्रममा चौकीदारको लुगा मन पराउनु र रातभर निद्रा नलाग्नु देखाएर नेपाल जातिप्रति नै मनोविश्लेषण गरेर तीतो व्यङ्ग्य प्रहार गरेका छन् जुन जोकोही स्वाभिमानी नेपालीको लागि असह्य नै हुन्छ ।

अब गाँठी कुरातिर आऊँ । यस चलचित्रमा नेपाली स्वास्नी (ल्याइते) लाई बहारवाली भनिए तापनि उसबाट देखाइएको मातृत्व, बात्सल्य, त्याग एवम् बलिदानलाई जोकोहीले पनि प्रशंसा गर्नुपर्छ । नारीमा हुने सर्वगुण नेपाली युवतीमा हुने गर्छ भन्ने तथ्य पनि यस चलचित्रमा देखाइएको छ । चलचित्र भनेको काल्पनिक यथार्थतामा आधारित मनोरञ्जनको माध्यम हो । यसमा कहिले अति तथ्य पनि हुने गर्छ भने कहिले तथ्यहीन पनि । हिन्दी चलचित्रहरू यस्तै कारणले समयसमयमा कतिपय शहरमा बहिष्कृत पनि हुन पुग्छन् । ‘ये गुलिस्तान हमारा’ पूर्वाञ्चल भारतमा छायाङ्कन गरिएको चलचित्र त्यहीँ बहिष्कृत हुन पुग्यो । ‘बम्बे’ चलचित्र राम्रो भईकन पनि मुसलमान समुदायले नै बहिष्कृत गरेका थिए । यस्तो हुने गर्छ, तर यो हुनुभन्दा अगाडि नै सतर्कता अपनाउन सक्ने यस्तो स्थिति नै सिर्जना हुने थिएन ।

यस चलचित्रमा तिब्बेतियन संस्कृति देखाइएको छ, तर बहारवाली नायिकाका बाउ बनेका बन्नी प्रधान दौरासुरुवालमा देखापर्छन् । बन्नी प्रधान आफैँ पनि चलचित्र निर्देशक हुन् । जब उनलाई नै तिब्बेतीयनहरू दौरासुरुवाल लाउँदैनन् भन्ने थाहा भएन भने बिचरा डेबिड धवनलाई केको दोष । यो चलचित्रमा बालमनोविज्ञानको दृश्य मात्र हटाइदिए पुग्ने । तर, हाम्रा सेन्सरकर्तालाई चलचित्र, कला–संस्कृतिको ज्ञान नभएपछि कसको के लाग्छ । सञ्चार मन्त्रालयले चलचित्रको कथावस्तु त पक्कै हेरेको हुनुपर्छ, अझ चलचित्र निर्माणको क्रममा प्रतिनिधि पनि पक्कै खटिएको हुनुपर्छ । जब मन्त्रालयजस्तो जिम्मेवार निकाय चुक्छ भने डेबिड धवन चुक्नुमा आश्चर्य मान्नुपर्दैन होला । हाम्रो राष्ट्रको गौरवमय इतिहासमाथि यस्ता नकारात्मक प्रभाव पर्नेखालका हिन्दी चलचित्रहरू पहिले पनि नबनेका होइनन् । नीर शाह आफैँले अभियन गरेको चलचित्र ‘बेकाबु’मा नेपाललाई आतङ्ककारी गतिविधिलाई प्रोत्साहन दिने एवम् विध्वंशकारी हतियार र बम बनाउने अखडाको रूपमा चित्रित गरिएको छ ।

तर, त्यसबेला कसैको मनमा राष्ट्रियताको भावना जागृत भएन । संस्कृतिप्रति चनाखो हुनेहरूले सर्वप्रथम आफूलाई नियाल्न सक्नुपर्छ । प्रोपोगान्डाको लागि मात्र विरोध गर्ने शैलीले निरन्तरता पाउँदैन । आज एफएमले सोझै फोनका माध्यमबाट सर्वसाधारणको चेलिबेटीलाई नाम र ठेगानासहित फलानोले प्रेमको प्रस्ताव राखेको कुरा बताउँदै गीत बजाउने गर्छ । घरमा फोन गरेर तपाईंको प्रेमी/प्रेमिका छ–छैन यदि छैन भने किन छैन भनी प्रश्न राख्ने गर्छ, के यो छाडा संस्कृति होइन । आफ्नो संस्कृतिमाथि प्रभाव पायो भनेर भारतको एउटा सानो राज्य मनिपुर अरुणाञ्चल प्रदेशले हिन्दी चलचित्र नै बहिष्कार गरिदिएका छन् । आसामको ‘अल्फा’ भन्ने विद्रोही समूहले आफ्नो संस्कृति बिर्सेर हिन्दी र अङ्ग्रेजी गीतमा नृत्य गऱ्यो भनेर राम्रा नर्तकी गीताको हत्या नै गरिदिएको छ ।

यो संस्कृतिमाथिको अतिक्रमण जहाँ पनि हुने गर्छ । यसबाट जोगिनु र जोगाउनु प्रत्येक नागरिकको कर्तव्य हो । नराम्रो कुराको विरोध गर्नुपर्छ, तर विरोधपछिको अवस्थालाई पनि बुझ्न सक्नुपर्छ । सल्लैसल्लामा हल्ला गर्दैमा विरोध हुँदैन । विरोध चरणबद्ध रूपमा गर्नुपर्छ । विरोधमा नियमितता भए मात्र विरोध विरोधजस्तै ठहरिन्छ ।

(घटना र विचार साप्ताहिक, २०५५ असार ३१ बुधबार)