वैचारिक अस्पष्टतामा रुमलियो सत्ताधारी दल

जङ्गलमा अल्झिएको बाह्रसिङ्गेजस्तै अवस्थामा डबल नेकपा





■ इन्द्रबहादुर बराल

देशको राजनीतिले अझै पनि स्पष्ट बाटो भेटाउन नसकेको अनुभव गरिँदै छ । लाग्थ्यो– अब मुलुकले स्पष्ट दिशा–निर्देश गरेको छ, शान्ति, स्थिरता र समृद्ध आफ्नो कोर्स समातिसकेको छ । तर, वर्तमान अवस्था हेर्दा सत्ता नाङ्गिँदै गएको र प्रतिपक्ष तङ्ग्रिँदै जाँदा राज्यको वागडोर समातेको नेकपा (नेकपा) अहिले आफैँ जङ्गलमा हराएको बाह्रसिङ्गे साबित हुँदै छ । दुई विपरीत विचारधारा बोकेका ठूला कम्युनिस्ट पार्टीहरू चुनावी माहोलमा सफल देखिए पनि राज्य सञ्चालनमा लगभग पूर्ण असफल भए भन्दा अतिशयोक्ति नहोला । मूलतः पूर्वमाओवादी केन्द्र र पूर्वएमालेबीचको वैचारिक अस्पष्टतामा रुमलिँदा आज देश र जनता नराम्रोसँग प्रभावित भएका छन् ।

नकपा (नेकपा) को राजनीतिक र वैचारिक अन्योलले सही बाटोमा देश हाँक्न सकिरहेका छैनन् । स्पष्ट विचार र दृष्टिकोणको अभावमा कुनै पनि राजनीतिक शक्ति मुलुक हाँक्ने असल सारथि हुन सक्दो रहेनछ भन्ने प्रस्ट भइसक्यो । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको चुलिँदो विवाद पनि वैचारिक अस्पष्टता नै हो । त्यही अस्पष्टताले केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असफल कदमहरूको सामना गर्नु परिरहेको छ । सरकारले धमाधम संसद्मा विधेयकहरू दर्ता गर्छ अनि विवादको भुमरीमा फस्दै जाँदा जनतामा निराशा र आक्रोश एकैपटक देखियो । यो सबै परिस्थितिको मूल कारण पहिलो दुईतिहाई बहुमतको मात र साथसाथै वैचारिक अस्पष्टता नै हो ।

मूलधारका दुई प्रमुख कम्युनिस्ट पार्टीबीच एकता त भयो, तर ती दुवै पार्टीलाई एक बनाएर हाँक्ने वैचारिक अस्पष्टताले आज जङ्गलमा अल्झिएको बाह्रसिङ्गे प्रमाणित भएको छ । पूर्वमाओवादीहरू माओको विचार र कार्यनीतिलाई त्याग्न आनाकानी गरिरहेका छन् भने पूर्वएमाले जनताको बहुदलीय जनवाद छाड्न सकिरहेका छैनन् । यिनै दुई विचारलाई समायोजन गरेर लैजाने मार्गको खोजीमा केपी र पीके देखिन्छन् । तर, उक्त कार्य त्यति सजिलो भने छैन । यो स्थितिमा कि त अब नेकपा (नेकपा) नेपाली काङ्ग्रेसको बाटोमा आउनुप¥यो कि संसदीय प्रणालीलाई त्यागेर जनवादी केन्द्रीयतातिर हाम फाल्नुपऱ्यो । यसबाहेक सत्तारुढ दलसँग अर्को विकल्प त्यति सहज छैन । मूलतः अहिले गत प्रतिनिधिसभाको चुनावी परिणामको गणितबाट जतिसुकै बलवानको दम्भ देखाए पनि भित्र खोक्रो भइसकेको अवस्था छ । यसको प्रमाण हो सरकार एकपछि अर्को विधेयक संसद्मा पेस गर्दै पछि हट्दै हो ।

गुठी विधेयक आँसु लुकाएर फिर्ता गर्न विवश भए भने प्रेस काउन्सिल विधेयक पनि अघि बढ्न सकिरहेको छैन । जनताको इच्छा र चाहनाविपरीत सरकार अघि बढ्न खोज्दा आफ्नो लोकप्रियता खस्कँदै गरेको अवस्थाबाट अझै चेत आएजस्तो देखिँदैन । नेपाली जनताले बहुलवादमा आधारित बहुदलीय व्यवस्थालाई अनुमोदन गरेका थिए र हुन् । त्यो बहुलवादको घेराबाट निस्केर एकदलीय प्रणालीको अभ्यासमा चोरबाटो खोज्दै गरेको आशङ्का पनि चर्चामा छ । मूलधारका दुई प्रमुख कम्युनिस्ट पार्टीको मूल ध्येय पनि त्यही हुन सक्छ । यसर्थ जनताको बहुदलीय जनवादबाट फड्को मारेर जनताको जनवाद राजनीतिक, वैचारिक र सैद्धान्तिक आधार खडा गर्ने क्रममा देखिन्छन् वर्तमान सत्तासीनहरू । उनीहरू अर्थात् नेकपा (नेकपा) अगाडिबाट कान समात्न लाज मानेर पछाडिबाट समात्ने प्रयत्न गर्दै छन् । तसर्थ अबको स्पष्ट वैचारिक र सैद्धान्तिक मार्गचित्रको खोजीमा नेकपा (नेकपा) निष्पट्ट अन्धकारमा छामछुम गर्दै छन् ।

अब उनीहरूले के बुझिसके भने नेपाली जनता जडसूत्रवादी हुँदै होइनन् । लोकतान्त्रिक प्रणालीकाूमुलभूत मूल्य र मान्यतालाई लात मारेर कम्युनिस्ट अधिनायकवादको कल्पना सम्भव छैन । काठमाडौंका नेवार समुदायको पनि नाडी छाम्ने काम भयो । अब नेवार समुदायलाई उपयोग गर्न सकिँदैन भन्ने पनि प्रमाणित भइसक्यो । छोटो समयमा धेरै प्रकारका अभ्यास भए । यदि सरकार इमानदार छ र हो भने सबैभन्दा पहिले भ्रष्टाचार नियन्त्रण गर्दै बजारभाउलाई आफ्नो काबुमा लिनुपर्छ । मानिसको दैनिकी यति कष्टकर हुुँदै गयो कि जसको कुनै व्याख्या गरिसाध्य छैन । जताततै अस्तव्यस्त व्याप्त छ । सन्तोष गर्ने कुनै एक ठाउँ छैन । भ्रष्टाचार त झनै भयावह भएर देश नै छोपिसक्यो । तर, सरकार कानमा तेल हालेर आनन्दसँग बसेको छ ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएको नभई आलोपालो सत्ता सञ्चालनको निम्ति चुनावी तालमेल वा गठबन्धन मात्र भएको रहेछ । अन्यथा सरकार सञ्चालन आलोपालोको कुरा नउठ्नुपर्ने हो ।

भ्रष्टाचारविरुद्ध बोल्ने सामाजिक अभियन्ताहरूमाथि निर्मम रूपले सरकार प्रस्तुत हुन्छ । ज्ञानेन्द्र शाहीमाथि आक्रमणले भ्रष्टाचारलाई प्रोत्साहन गरेको अनुभूति गरिएको छ । भ्रष्टाचारको भोलुम (आकार) बढेर लाखबाट खर्बसम्मको गन्धले नाकै थुन्ने अवस्थामा सरकार निर्लज्ज छाती खोलेर हिँडेको छ । निर्मला पन्तजस्ता निर्दोष बालिकाको बलात्कारपछिको हत्याले आमनेपाली न्याय हराएको अनुभव गरिरहेका छन् । निर्मला पन्तलाई न्याय दिलाउन निस्केका न्यायप्रेमी जनतामाथि कठोर नीति अवलम्बन गरेर तर्साउन नखोजिएको पनि होइन । जनताको आवाजलाई गम्भीरतापूर्वक लिनुको सट्टा उल्टै दबाउन काठमाडौंका माइतीघरमण्डलालगायतका ठाउँहरूमा सभा–जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषित गरियो । तर, जनताले त्यस्ता निषेधित क्षेत्र तोडेर सरकारको अलोकतान्त्रिक चरित्रलाई उदाङ्गो पारिदिए । अन्ततः सरकार आफ्नो अलोकतान्त्रिक कदमबाट पछि हट्न बाध्य भयो ।

त्यसैले भनिन्छ नि ‘सत्य मेव जयते’ सत्यको विजयी अवश्यम्भावी छ, केवल ढिलो–चाँडो मात्रै हो । नेपालमा कम्युनिस्टहरू राज्य सञ्चालनमा होइन अशान्ति, उपद्रवी र भ्रष्टाचारमा पारङ्गत छन् भन्ने प्रमाणित हुन खोज्दै छ । तसर्थ सत्तासीन पार्टी आन्तरिक विवाद र बहसमा अल्झिँदा सिङ्गो मुलुक नै आक्रान्त हुन्छ भन्ने हेक्का राख्नुपर्छ । एउटा भनाइ छ, ‘विचारबिनाको सङ्गठन र विवेकबिनाको नेतृत्व’ले न त सङ्गठन चुस्त–दुरुस्त हुन्छ न कार्यकर्तामा नै न्याय । अहिले सत्तारुढ दलमा देखिएको दिशाहीनता र अन्योल भनेकै राजनीतिक, वैचारिक र सैद्धान्तिक अस्पष्टता हो । जुन विषय अहिले सडकमा छताछुल्ल भएर देखापरेको छ ।

देशमा स्पष्ट बहुमत ल्याउन नसकेको दलले शासन गरेजस्तो अवस्था देखिनुले के प्रस्ट गर्छ भने पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएको नभई आलोपालो सत्ता सञ्चालनको निम्ति चुनावी तालमेल वा गठबन्धन मात्र भएको रहेछ । अन्यथा सरकार सञ्चालन आलोपालोको कुरा नउठ्नुपर्ने हो । यहाँ चर्चा गरेजस्तो अवस्था किमार्थ होइन । कि त उनीहरूबीचको वैचारिक मतैक्यता छैन कि निहित स्वार्थले अन्धो भएका छन् । बाहिर जे देखिएको छ सत्तारुढ दलभित्र एउटा पक्षले हेपेको अर्को पक्ष हेपिएको हो कि भन्ने पनि बुझिन्छ । प्रधानमन्त्री ओलीले एउटा सानो झुण्डलाई काखी च्यापेर पार्टीको ठूलो तप्कामाथि ज्यादती गरेको देखिन्छ । यसरी पार्टीको आन्तरिक जीवनको विवादले पूरै मुलुकले कहिलेसम्म दुःख पाइराख्ने हो भन्ने चर्चासमेत सुनिन थालेको छ । यी सबैको पछाडि जेनतेन प्रमुख दुई कम्युनिस्टको चुनावी एकताले सफलता त प्राप्त ग¥यो, तर जनताको लागि ‘बेताल रूखमै’ भन्ने उखान चरितार्थ भयो ।

प्रतिनिधिसभादेखि तीनै तहका चुनावमा काङ्ग्रेसप्रति लक्षित गर्दै झाडीमा अल्झिएको बाह्रसिङ्गेको उखान आज सत्तारुढ दलमा देखापरेको छ । आवश्यकभन्दा बढी बहुमत प्राप्त भएर हो कि के हो प्रधानमन्त्री ओली भुइँमा न भाँडोमा भएको प्रतीत हुन्छ । प्रतिपक्षलाई त ‘निम्छरा’जस्ता असंसदीय र अमर्यादित शब्दको प्रहार गरियो–गरियो, आज आफ्नै दोस्रो अध्यक्ष पुष्पकमल दाहाललाई समेत बाँकी राख्न छोडेनन् । यसबाट देशले थप दुःख पाउने प्रायः निश्चित छ । पानीजहाज र रेलका ललिपपको रस सकिएर छोक्रामा परिणत भइसके, अब कुन गीत गाउने हुन् प्रधानमन्त्री ओलीले थाहा छैन ।

देश अहिले शक्तिशाली सरकार भएर पनि गतिहीन, दिशाहीन अवस्था हुनुको प्रमुख कारण नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वैचारिक अस्पष्टतामा रुमलिनु नै हो । जब कि जनताको जनवाद भन्ने विवादले सरकार र पार्टी (नेकपा) जङ्गलमा अल्झिएको बाह्रसिङ्गेजस्तै भएको छ, चेतना भया ।

प्रतिक्रिया