खर्च कटौती गरेर जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति

खर्च कटौती गरेर जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति


■ श्याम क्षेत्री, टोकियो

एनआरएनए जापान (१७-१९) कार्यसमितिले आफ्नो कार्यलय खर्च कटौती गरी नेपालका विभिन्न दुर्गम जिल्लाका ५० जना गरीव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।

हरेक देशका एनसीसी अध्यक्षहरुले एउटा प्रोजेक्ट तयार गरी आ(आफ्नो जिल्लामा लागु गर्न पाउने आईसीसीको निर्णय र कार्ययोजना अनुसार यो प्रोजेक्टलाई एनआरएनए जापानले नेपालका ५० जना विद्यार्थीका लागि शिक्षामा सहयोग गर्ने तय गरेको महासचिव बुद्धिराज घिमिरेद्वारा जानकारी प्राप्त भएको छ ।

गैरआवसीय नेपाली संघ जापानले विगत ५ वर्षदेखि कार्यालयको भाडा, बत्ती, पानीको शुल्कसहित ८० हजारको हाराहारिमा भुक्तानी गर्दै आएको थियो।उक्त रकम कार्यसमितिका सदस्यहरूले प्रत्येक महिना बुझाउने लेवीबाट संकलित रकम हो। यसरी संकलित रकम आर्थिक मितव्ययीताको उद्देश्य र योजनासहित कम भाडादर भएको ठाऊमा कार्यालय स्थान्तरण गर्दै बचत रकमबाट नेपालका दुर्गम जिल्लाका विद्यार्थीको शिक्षामा सहयोग पुग्ने गरि प्रयोजनमा ल्याइने भएको हो ।

पुरानो कार्यलय हलमा कार्यसमितिको पूर्ण बैठक बस्दा समेत ठाऊँ अपुग हुने भएपछि नयाँ विकल्प खोजिएको र हालको कार्यलय पुरानोभन्दा ठुलो रहेकोले जापानस्थित अन्य नेपाली संघ संस्थाले समेत बैठक तथा सेमिनारको लागि प्रयोजन गर्न मिल्ने र सम्बंधित संस्थाको लागि लकर समेत राखिदिने सुविधा पनि उपलब्ध छ।

मासिक रूपमा कार्यलय खर्चबाट बचत हुन आएको ९५मान यन ० ५० हजार रूपैयाँ नेपालमा २ वर्षसम्मका लागि हाललाई ५० जना विद्यार्थीको शिक्षा क्षेत्रमा प्रयोग हुने गरि वितरण गरिएको र यो योजना प्रभावकारी भएमा अन्य स्रोत खोजी थप सहयोग गरिने अध्यक्ष टासि वाङ्दी लामाले जानकारी गराउनुभयो ।

हाललाई ५० जनाको कोटामा नेपालको मनाङ जिल्लाबाट १५ जना, लमजुङबाट ५ जना, वागलुङबाट ५ जना, पर्वतबाट ५ जना, पाल्पाबाट ५ जना, सुदुरपश्चिमबाट ५ जना मुस्ताङबाट ५ जना र रामेछापबाट ५ जना विद्यार्थीको लागि उक्त छात्रवृति प्रदान गरिने भएको छ। उक्त सहयोग एनआरएनए जापानले एनआरएनए आईसीसीको काठमाडौंस्थित सचिवालय मार्फत सहजिकरण गर्ने गरी सहयोग रकम हस्तान्तरण गर्ने छ।