बंगलादेशी तयारी पोसाक उद्योगमा आगलागी, ६ को मृत्यु

बंगलादेशी तयारी पोसाक उद्योगमा आगलागी, ६ को मृत्यु


बंगलादेशको एक तयारी पोसाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घन्टाभन्दा बढी समय लागेको थियो । बंगलादेशमा असावधानीका कारण तयारी पोसाक कारखानाहरूमा बारम्बार आगलागीका घटना हुने गरेका छन् ।

मंगलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताए । अख्तरले घटनास्थलबाट ६ जनाको शव निकालिएको जानकारी दिए ।

आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमा अरू पीडितको खोजीकार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

चीनपछि विश्वमै तयारी पोसाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बंगलादेश हो । तर, उद्योगमा नियमितझैँ आगलागी र अरू दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो । ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो । –एएफपी