अविरल वर्षापछि जापानमा ६ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

अविरल वर्षापछि जापानमा ६ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश


जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा बसोवास गर्दै आएका करिब ६ लाख स्थानीयलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरूलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ ।

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको प्रान्तीय राजधानी कागोशिमा सहरमा परेको अविरल वर्षापछि सरकारको सो आदेश आएको हो । कागोशिमा सहरमा स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेबाट ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएचकेको समाचारमा जनाइएको छ ।

यसरी भारी मात्रामा वर्षा भएपछि यसबाट पहिरो जान सक्ने सम्भावना पनि रहेको चेतावनी दिँदै सो इलाकाबाट ती नगरवासीलाई विस्थापित गरी अन्यत्र सार्न जापान सरकारले स्थानीय अधिकारीलाई भनेको हो । अविरल रूपमा परेको यो वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ । क्युसु द्वीप इलाकामा ८० मिलिमिटर प्रतिघन्टाको हिसाबले वर्षा हुने अनुमान यहाँका मौसमविदले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा अन्यत्रको तुलनामा बढी पानी पर्ने अनुमान यहाँको मौसम विज्ञान विभागले गरेको थियो । तैपनि यहाँबाट स्थानीय नागरिकलाई सार्ने काम बुधबार बिहानसम्म पनि गरिएको थिएन । तर, बुधबार बिहान जापान सरकारले यो आदेश दिएपछि यहाँका सुरक्षा निकाय र उद्धारकर्मी यहाँका स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ ।