नेता हुनुको अर्थ के हो ?

नेता हुनुको अर्थ के हो ?


■ बबिता बस्नेत

मानिस जन्मिँदा सबै उस्तै रूपमा जन्मिए पनि समयक्रममा ऊ हुर्किएको वातावरण, पाएको अवसर र रुचिले विभिन्न क्षेत्रका महत्वपूर्ण स्थानमा पुग्न सफल हुन्छन् । विभिन्न क्षेत्रको नेतृत्वमा पुग्नुको अर्थ व्यक्ति स्वयम् विशेष भएका कारणले नभई उसले निर्वाह गरेको भूमिका विशेष भएका कारणले हुने गर्छ । डाक्टर, वैज्ञानिक, लेखक, पत्रकार, वकिल, राजनीतिकर्मी विभिन्न क्षेत्रमा धेरै व्यावसायिक व्यक्तिहरू हुन्छन् जसमध्ये कमै मात्र नेतृत्वमा पुग्छन् ।

कुनै पनि मानिस नेतृत्वमा पुगेपछि उसलाई हेर्ने आमदृष्टिकोण फरक हुने गर्छ । नेता हो यति त उसले गरिदिनुपर्छ, यति त उसले सहिदिनुपर्छ, समग्रमा अरूभन्दा फरक हुनुपर्छ । फरकपन इटहरीका मेयर द्वारिका चौधरीजस्तो नभई सोचेर बोल्ने, कम बोल्ने, धेरै सुन्ने हुनुपर्छ भन्ने छ । मुलुकको सबै क्षेत्रलाई निर्देशन गर्ने हुनाले राजनीतिक नेतृत्व कस्तो छ भन्ने कुराले विशेष अर्थ राख्छ । कुशल नेताले पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्छ । विचारका हिसाबले आफ्नो विचारमा अरूलाई सामेल गराउन सक्नु नेतृत्व हो । तर, हामीकहाँ नेताले व्यक्त गर्ने विचार आमजनताले सहमति जनाउन सक्ने प्रकारका हुने गरेका छैनन् ।

केही दिनअघि प्रधानमन्त्रीले काठमाडौंमा माक्स लाउनुपर्दैन भन्नुभयो । हो, काठमाडौंमा गाडीमा हिँड्दा माक्स लाउनुपर्दैन, यदि एयर कन्डिसन गाडी छ भने त्यो सही हो । तर, सिसा खोलेर चलाउनुपर्ने गाडी छ भने माक्स नलगाई चलाउन गाह्रो छ । बाटोमा हिँड्दाको त कुरै भएन, बेलाबखत सडकमा जम्मा हुने फोहोरले त झनै माक्सलाई अनिवार्य गरिदिएको छ । यस्ता आधारहीन अभिव्यक्तिले नेतालाई हल्काफुल्का बनाइदिन्छ । यो एउटा उदाहरण मात्रै हो, प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले व्यक्त गर्नुभएका यस प्रकारका गैरजिम्मेवार अभिव्यक्तिहरूको फेहरिस्त लामो छ ।

भोट जसको लिए पनि निर्वाचित भएर पदमा पुगिसकेपछि उसले जनतालाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ । तर, हामीकहाँ नेतृत्वमा पुगेकाहरूको अधिकांश समय आफूइतरलाई गाली गरेर बित्ने गरेको छ । जुन नेतृत्वमा हुनुपर्ने गुण होइन ।

अहिले स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीयसम्म नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिहरूमाथि आफ्नो सेवा सुविधामा बढी सरोकार राखेको भन्ने कुरा व्याप्त छ । गाडी नभएका कारण नगरपालिकाका पदाधिकारीहरू कार्यालय नगएको, सांसदहरूले आफ्नै सुविधा बढाएको, मन्त्री तथा अन्य गाडी सुविधा पाउने पदाधिकारीले चढ्ने गाडी हुँदाहुँदै नयाँ गाडी किनेकोलगायतका कुराहरू प्रत्येक दिनजस्तै सार्वजनिक हुने गरेका छन् । यसरी हेर्दा नेता हुनुको अर्थ ‘राज’ गर्नका लागि हो कि भन्ने बुझाइ नेतृत्वमा परेको देखिन्छ ।

खासमा नेता हुनुको अर्थ राज गर्नु नभएर जनताको जीवन सहज बनाउनका लागि सहजीकरण गर्नु हो । नेता जो पनि हुन सक्छ, नेता हुनलाई पद आवश्यक छैन, तर यदि ऊ नेता हो र पदमा पनि छ भने ऊ नेतृत्वमा रहेको नेता हो, चाहे ‘इलेक्टेट’ होस् या ‘सेलेक्टेट’ । नेता भनेको यस्तो मानिस हो जसले दूरदृष्टि राख्न सक्छ, परसम्म देख्न सक्छ, जनतालाई समान व्यवहार गर्न सक्छ । भोट जसको लिए पनि निर्वाचित भएर पदमा पुगिसकेपछि उसले जनतालाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ । तर, हामीकहाँ नेतृत्वमा पुगेकाहरूको अधिकांश समय आफूइतरलाई गाली गरेर बित्ने गरेको छ । जुन नेतृत्वमा हुनुपर्ने गुण होइन ।

नेतृत्व महत्वाकाङ्क्षाबाट आउनुहुँदैन भनिन्छ, तर हाम्रो समस्या के हो भने नेतृत्वमा आउनेहरू आफ्नो महत्वाकाङ्क्षाका कारण आएका छन् । नेता हुनका लागि जनतालाई सकारात्मक बाटोतर्फ डोऱ्याउने दृष्टिकोण चाहिन्छ । जनताका अगाडि शान लगाएर हिँड्ने नभई विनम्रताका साथ प्रस्तुत हुने क्षमता आवश्यक हुन्छ । अरूलाई राम्रो देख्नका लागि आफू मनभित्रैबाट राम्रो बन्नुपर्ने हुन्छ । मुलुकलाई सकारात्मक बाटोमा हिँडाउन आफू सकारात्मक सोचबाट निर्देशित हुनुपर्छ । म किन नेतृत्वमा छु भन्ने कुरा थाहै नपाई नेतृत्वमा पुगेका कारण समस्या आएका हुन् जस्तो पनि लाग्छ ।

खाने, लाउने, बस्नेजस्ता ससाना कुरामा नेताहरू अल्झिएको देख्दा नेतृत्वको अर्थ कसले र कसरी बुझाउने होला भन्ने कुराले मनमा ठाउँ लिन्छ । मानिसको जीवनमा सफलताको अर्थ पद होइन, प्राप्त पदलाई उसले कसरी सदुपयोग गऱ्यो र कतिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गऱ्यो भन्ने हो । अरूको जीवनमा खुसी ल्याउन सक्नु सफलता हो, तर हामीकहाँचाहिँ पदमा पुग्नासाथ सफलता प्राप्त गरेको ठान्ने चलन छ, जुन सही होइन । आफ्नो नजरमा सफल हुनु र अरूको नजरमा सफल हुनु फरक कुरा हो ।

काठमाडौंमा सवारीसाधनलाई हर्न बजाउन निषेध छ, तर उच्चपदस्थका साइरनले राज्यको नियम उल्लङ्घन गरिरहेका छन् । साइरन रमिताका दर्शक बन्नेहरूलाई सडकमै उभिएर प्रश्न गर्न मन लाग्छ– के नीति–नियम भन्ने कुरा जनताका लागि मात्रै हुन् ?

नेतृत्वमा पुगेकाहरूले सोच्ने, महसुस गर्ने र कार्य–व्यवहारमा लागू गर्ने कुराले जनतामा प्रभाव पार्छ । नेतृत्वमा रहेकाहरूले होटेलमालिक र वेटरलाई गर्ने व्यवहार उस्तै हुनुपर्छ । तर, हामीकहाँ मेरो व्यवहारलाई अरूले मूल्याङ्कन गरिरहेका छन् भन्ने ठानेजस्तो लाग्दैन । नेता भएपछि शान लाउनुपर्छ भन्ने भावना केहीलाई छोडेर धेरैमा देखिन्छ । स्थानीय तहमा यो अझ बढी देखिन थालेको छ । पञ्चायतकाल र २०४६ सालपछिको नेतृत्व स्वयम्सेवी हुन्थ्यो । बोली र व्यवहारमा नम्रता झल्कन्थ्यो । अहिलेको नेतृत्वलाई जनताले आफ्नो दुःखको कमाइको कर तिरेका छन् र पनि व्यवहार भने पहिलाको जस्तो छैन ।

नेता हुनुको अर्थ साधारणपन पनि हो । डेनमार्कका पूर्वप्रधानमन्त्रीले आफू बस्दै आएको सरकारी निवास छोड्ने बेलामा एउटा सानो झोला बोकेर पैदल हिँड्दै बाहिरिएको दृश्य हामीलाई खुब राम्रो लाग्यो । तर, हाम्रा पूर्वप्रधानमन्त्रीहरूका अगाडिपछाडि सुरक्षाकर्मीका लावालस्करले आँखा बिझाए पनि हेर्न हामी बाध्य छौँ । राजधानीका सडकमा चर्को साइरनसहित गाडी बत्तिएको देखियो भने अवश्य नै त्यो मन्त्री, प्रधानमन्त्रीको हुने गर्छ । वरिपरि सुरक्षाकर्मीका लहरमा सडकका अन्य गाडीलाई ठक्कर दिउँलाझैँ गरी ती गाडीहरू ट्राफिक नियमभन्दा निकै पर लाइन मिच्दै गुडिरहेका देखेर मनमा अनायसै प्रश्न उठ्छ, प्रधानमन्त्री या मन्त्रीका गाडीलाई चाहिँ ट्राफिक नियम लाग्दैन ? मुलुकको नीति–नियमको कार्यान्वयन त उहाँहरूबाटै हुनुपर्ने होइन र ? काठमाडौंमा सवारीसाधनलाई हर्न बजाउन निषेध छ, तर उच्चपदस्थका साइरनले राज्यको नियम उल्लङ्घन गरिरहेका छन् । साइरन रमिताका दर्शक बन्नेहरूलाई सडकमै उभिएर प्रश्न गर्न मन लाग्छ– के नीति–नियम भन्ने कुरा जनताका लागि मात्रै हुन् ? नेतृत्वमा रहेकाहरूले तिनको पालना गर्नुपर्दैन ?

मुलुकमा ठूलै आपत्विपत् आएझैँ गरी साइरन बजाउँदै हिँड्नलाई के हाम्रा नेताहरूलाई साँच्चीकै सुरक्षा ‘थ्रेट’ छ ? छ भने कोबाट छ ? छैन भने सुरक्षाका नाममा यत्तिका धेरै तामझाम किन भइरहेको छ ? जनताको माझमा रहेका, रहने र रहनुपर्ने जनप्रतिनिधिहरूलाई त्यत्तिका धेरै खतरा कहाँबाट उत्पन्न भयो ? या भइरहेको छ ? सर्वसाधारणले जान्न पाउनुपर्छ । आफ्ना प्रतिनिधिहरूको सुरक्षा जनताको सरोकारको विषय हो । नेतृत्व अरूलाई देखाउनका लागि लिने कुरा होइन । सानातिना कुरालाई विशालझैँ बनाएर मैले गरिदिएँ त… भन्ने कुरा पनि होइन ।