नेपालमा पर्यटक बढाउने उद्देश्यले बेल्जियममा प्रचारप्रसार

नेपालमा पर्यटक बढाउने उद्देश्यले बेल्जियममा प्रचारप्रसार


  • डिल्ली अम्माई, बेल्जियम

करिव २० लाख पर्यटक भित्र्याउने लक्ष्यको साथ मनाउन गइरहेको भिजिट नेपाल २०२० अभियानलाई परिणाममुखी बनाउन बेनेलक्सस्थित नेपाली दुतावासको अभिभावकत्वमा व्यबसायी संघ बेल्जियमले प्रचार सामाग्री वितरण गर्ने कार्यको थालनी गरेको छ।

बेल्जियममा रहेका हरेक नेपाली व्यवसायी रहेको स्थलमा नियमित रुपले पर्यटन प्रचार सामग्रीको स्ट्याण्ड बक्स राख्दै ब्यवसायी संघले प्रचार तीव्र पारेको हो।

दुतावाससहित नेपाली ब्यवसायी संघ बेल्जियमले नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी अडियो, भिडियो र फोल्डर्सहरु नेपाली व्यबसायीको व्यवसायिक स्थलमा राख्ने अभियानलाई प्रोत्साहन गर्दै बेनेलक्सका नेपाली राजदुत लोकबहादुर थापा आफैले अभियानको नेतृत्व गरेका थिए। त्यो अभियानमा व्यवसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौलालगायतको व्यवसायी टिमले नेतृत्वदायी भूमिका निभाएको देखिन्थ्यो।

जुन ३० तारिक आइतबार यो टिमले बेल्जियमको आन्त्वेर्पेनमा रहेका धेरै नेपाली ब्यवसायीहरुबीच प्रचार सामाग्री वितरण गऱ्यो। ‘भिजिट नेपाल २०२० लाई सफल पार्न हामीले यो अभियान बेनेलक्स र अन्तमा युरोपभरि शुरु गर्नुपर्छ’- बेनेलक्स तथा युरोपिएन युनिएनका लागि नेपाली राजदुत थापाले एक अनौपचारिक कुराकानीको क्रममा बताए।