समर युनिभर्सियाडका नेपाली प्रतिस्पर्धीहरूको विदाई

समर युनिभर्सियाडका नेपाली प्रतिस्पर्धीहरूको विदाई


नेपोली (इटाली)मा आयोजना हुने ३०औँ समर युनिभर्सियाड खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले यसबारे जानकारी दिँदै ३ देखि १४ जुलाईसम्म सञ्चालन हुने युनिभर्सियाड प्रतियोगितामा नेपालको तर्फबाट तेक्वान्दो र फेन्सिङका खेलाडीले सहभागिता जनाउने बताए ।

प्रतियोगितामा नेपालको तर्फबाट फेन्सिङतर्फ ओमकार सिंह, अनिसा अधिकारी र अनिता कार्कीले चुनौती पेस गर्नेछन् भने तेक्वान्दोतर्फ सक्षम कार्की, नम्रता तुलाधर, पार्वती गुरुङ, अस्मिता खड्का र उमेश राजभण्डारीको सहभागिता रहने छ । यी खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा युनिभर्सियाडमा सहभागी गराउन लागेको संघले जनाएको छ ।

उक्त १५ सदस्यीय टोलीको नेतृत्व विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) र महासचिव पूर्णसिंह बोहराले गर्नेछन् भने टोलीमा टीयुका आधिकारिक प्रतिनिधि ज्ञानेन्द्रप्रसाद पौडेल, सञ्चारकर्मी श्रीविक्रम भण्डारी, प्रशिक्षक दीपक विष्ट, म्यानेजर मदन कार्की र राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्रबहादुर कुँवर रहने छन् ।

३०औं समर युनिभर्सियाडमा विश्वका १ सय ७७ राष्ट्रका आठ हजार खेलाडीले सहभागिता जनाउँदै छन् । यो प्रतियोगितालाई ओलम्पिकपछिको दोश्रो ठूलो प्रतियोगिता मानिन्छ । नेपालले यो प्रतियोगितामा विगत पाँच संस्करणदेखि निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म यो प्रतियोगितामा कुनै पदक जित्न भने सकेको छैन ।

प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडी तथा पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि, पूर्वमन्त्री तथा वर्तमान सांसद लेखराज भट्टले विदाई गरे । उनले खेलाडीहरूलाई सफलताको शुभकामना पनि थिए ।