हिरोइन बन्न अमेरिकादेखि आइन् क्रिष्टिना

युवा पुस्तामाझ बढ्दैछ नेपाली सिनेमाको क्रेज


■ राजन घिमिरे

पछिल्लो कालखण्डमा कुनै समय यस्तो पनि थियो– नेपाली नयाँ पुस्ताका युवा–युवतीलाई ‘नेपाली चलचित्रमा अभिनय गर्ने हो ?’ भनी प्रस्ताव राख्न गइयो भने तिरस्कारयुक्त भावमा मुखभरिको जवाफ पाइन्थ्यो । प्रस्ताव राख्नेले ग्लानी महसुस गर्नुपर्ने अवस्था आइपर्थ्यो– अहो ! भन्नै नहुने भनिएछ, राख्नै नहुने प्रस्ताव राखेर गल्ती गरिएछ !

नेपाली सिनेमाप्रति त्यति धेरै नकारात्मक भाव या हेय पैदा भएको थियो । नेपाली सिनेमा त नपढेका, नबुझेका र देश–विदेश नघुमेकाहरूले खेल्ने र हेर्ने फाल्तु कुरा हो भन्ने सोचले ग्रस्त थियो युवा पुस्ता । तिनका शिक्षित अभिभावकहरू पनि यस्तै सोच राख्दथे । यस्तो परिवेश र संस्कारमा हुर्केका परिवारका सन्तान नेपाली सिनेमामा देखिनु भनेको ठूलै जितसरह हुन्थ्यो ।

नेपाली चलचित्रप्रति अभिभावककै धारणा सकारात्मक नभएपछि छोराछोरीको लगाव रहने सवाल नै रहेन । यस्तो परिवेश वा संस्कारमा हुर्केका परिवारका छोराछोरीहरू नेपाली रजतपटमा देखिनु भनेको ठुलै जितसरह हुन्थ्यो ।

विस्तार–विस्तार नेपाली रजतपटमा नेपाल सुन्दरीहरूको सहभागिता रहन थालेपछि सीमित वर्ग–क्षेत्रमा रूमल्लिरहेको नेपाली सिनेमाको पहुँच, दायरा या उपस्थिति अलिक फराकिलो हुन पुग्यो । तथापि, ‘नेपाल सुन्दरी’हरूले पनि नेपाली सिनेमाको कर्मलाई निरन्तरता दिनेतर्फ दिनुपर्ने जति ध्यान दिएनन् । उनीहरू त केवल ‘कलाकार’ भनेर चिनाउने, सकभर दाम पनि हात पार्ने र देशी–विदेशी युवक समातेर घरजम गर्ने या अरू नै क्षेत्रमा करिअर बनाउने गर्न थाले । अर्थात्, उनीहरूले नेपाली चलचित्र क्षेत्रलाई ‘च्याँखे दाउ’ हान्ने थलो बनाए । यस प्रकार सुन्दरी मोडलहरूको आगमनले पनि सिनेमा क्षेत्रको आकर्षण या गरिमा बढाउन कुनै योगदान पुऱ्याएन ।

तथापि, नयाँ–नयाँ अपरिचित अनुहार एवम् परिवेशबाट ‘नायक–नायिका’ आउने–जाने अवस्था हुँदा पनि नेपाली सिनेक्षेत्र अत्तालिएन, जसोतसो आफ्नो यात्रामा अघि बढिरह्यो ।

यतिबेला चाहिँ नेपाली सिनेमाको उठबस, पहुँच र दायरा धेरै फराकिलो र ‘वाह’ गर्नलायकको भएको छ । धेरै पनि पर्दैन, जम्मा एउटा मात्र चलचित्र हिट भैदियो भने त्यसमा संलग्न कलाकारहरू रातारात चिनिने र हिट हुने अवस्था आएको छ । उसले जीवनमा नसोचेको नाम, दाम र फ्रेम हात पार्न सक्ने परिस्थिति बनेको छ । छिचोलेर भन्नुपर्दा, आज पहिलेको भन्दा परिवेश ठ्याक्कै उल्टिएको छ ।

कुनै नेपाली सिनेमाको निम्ति कलाकारको अडिसन आह्वान गरियो भने मूलुक र मूलुकबाहिरबाट समेत नयाँ पुस्ताको ताँती नै लाग्ने गर्छ आजकाल । आफ्ना सन्तानलाई हिरो वा हिरोइन बनाउन फोर्स वा दबाब नै लगाउने समेत गरिन्छ । कुनै समय फिल्म नखेल्न दबाब र चेतावनी दिने अभिभावकहरू आज फिल्म खेल्न दबाब दिन थालेका छन् । यो परिस्थितिले साँच्चै नेपाली सिनेमाले आफ्नो भविष्य युवा पुस्तामाझ एकाएक लोकप्रिय, वजनदार र उच्च तुल्याएको प्रतीत हुन्छ ।

यही परिस्थितिको उपज एउटा उदाहरण हेरौँ । हालै निर्माता र निर्देशक सन्तोष सेनले चलचित्र प्रेमगीत–३ का निमित्त गीतको भूमिकामा अडिसनका लागि सार्वजनिक रूपमा आह्वान गरे । त्यसलाई एक अवसरको रूपमा ‘क्याच’ गर्न नेपालभित्र रहेका र विदेश बसिरहेका समेत हजारौँ युवतीहरूको सहभागिता रह्यो । नेपाली सिनेमाप्रतिको यस्तो चासो र लगाव देख्दा सहजै अनुमान लगाउन सकिन्थ्यो कि वर्तमान नवपुस्तामाझ नेपाली सिनेमाले राम्रैसँग जरो गाडिसकेको छ ।

चलचित्र प्रेमगित–३ का लागि सन्तोष सेनले अडिसनमार्फत पात्र चयन गर्ने जुन काम गरे त्यो साँच्चै स्वागतयोग्य कुरा थियो । उनको यो शैलीले देशमा मात्र होइन कि प्रवासमा रहेका युवामाझ पनि नेपाली सिनेमाको पहुँच बलियो बनेको रहेछ भन्ने छर्लङ्ग भएको छ ।

चलचित्र प्रेमगीत–३ का लागि नेपाललगायत अमेरिका, युके, युरोप, जापान र अष्ट्रेलियामा रहेका नेपाली युवतीहरूबाट अत्याधिक सहभागिका रह्यो । यसबाट पनि के छर्लङ्ग हुन्छ भने विदेश पुगेका नेपाली युवतीहरूले अब नेपाली सिनेमामा पनि आफ्नो भविष्य देख्न थालेका छन् । अमेरिकालगायत विकसित मुलुक जान युवा पुस्ता मरिमेट्छ र पनि अन्ततः त्यस्तो देशसमेत छोडेर नेपाली सिनेमा खेल्न युवा पुस्ता तयार छ अब ।

प्रेम गीत–३ मा गीतमा अभिनय÷मोडलिङ गर्न करिव तीन हजारको हाराहारीमा अडिसन परेकोमा अन्ततः अमेरिकामा रहेकी क्रिष्टिना गुरूङ छनोटमा परेकी छिन् । दुई हजार ७ सय १४ जना युवतीहरूलाई पछि पार्दै छानिएकी क्रिस्टिना प्रेमगीत–३ मा अडिसन दिनकै निम्ति अमेरिकाबाट नेपाल आएकी थिइन् । नेपाली सिनेमामा केही गर्छु भनेर आएकी क्रिष्टिनाको यो लगावबाट के बुझिन्छ भने उनको सोच र उद्देश्य प्रष्ट छ– नेपाली सिनेसंसारमै उनले आफ्नो भविष्य खोज्नेछिन् । अब नेपाली चलचित्रलाई हेप्ने, ब्यङ्ग्य प्रहार गर्ने र उपेक्षा गर्ने समय समाप्त भएको छ ।

प्रतिक्रिया