■ अर्जुनराज पन्त
हेर्दाहेर्दै सलामी नि आए कस्ता-कस्ता
पिर्के ठेउके टेबुले भए अति सस्ता
भट्टी होस् कि गाउँबस्ती जहाँ-तहीँ आज
ठाउँ न ठहर सलामी छ, छैन कतै लाज
सलाम हो कि लाखे नाच बिचित्रै पो भा’छ
ठेउका चढ्दा नपुगेर टेबुलमाथि गा’छ
देखिन्न त भऱ्याङ्ग कतै क्यारी त्यहाँ चढे
हनुमानले उचाले कि आफैं अघि बढे
वर्षायामको हिलो जमिन टेबुलमाथि चढ्दा
टेबुल-सेबुल भासिएला तिम्रा भारले गड्दा
अजङ्गको तिम्रो शरीर चढ्दा टेबुलमाथि
कोल्टिएर पल्टिएला गर्दा नानाभाँती
ज्यानको डर त मान गाँठे धरापमाथि चढ्दा
अङ्गभङ्ग होला फेरि त्यहाँबाट लड्दा
सलामीमा हात उठाउन दुवै गोडा जोड्दा
एउटा गोडा टेबुलमाथि अर्कोले ठाउँ छोड्दा
ढुन्मुनिएर खासौला नि कुकुरमुन्टी गर्दै
लगाएर ठाडा खुट्टा टेबुलमुनि पर्दै
सलामीको रहर गर्दै जे भेटे नि चढ्दा
गर्न पर्ला उपचुनाव तिमी त्यहाँ लड्दा
दूर-दराजका गाउँमा जाउला टेबुल कहाँ पाउला ?
नभेटेर हनुमानले डोको लिई आउला
नचढ्नु है डोकामाथि टेबुल चढेसरि
अरुभन्दा माथि भई सलाम खाने गरी
मक्किएको त्यस्तो डोको कच्याककुच्चुक पर्ला
सलाम खाने तिम्रो रहर डोकाभित्र झर्ला
खोजी कतै अर्को डोको त्यो डोकालाई फाली
बोकाएरै ल्याउनु पर्ला डोकैभित्र हाली
नचढ भो डोका टेबुल चढ पिर्का मात्र
सलामीकै हत्या गर्ने अनिकाले पात्र
ज्यानैमाथि जोखिम पर्दा लाजै मान्छौ किन
जहाँ जाँदा नि सँगसँगै पिर्का बोकी हिँड
प्रतिक्रिया