४९ जना भक्तपुरे महिला रानीपोखरी पुनर्निर्माणमा

४९ जना भक्तपुरे महिला रानीपोखरी पुनर्निर्माणमा


  • छविलाल बगाले

विवादमा तानिएको काठमाडौंस्थित रानीपाखरीलाई भक्तपुरका महिलाहरुले अघि बढाएका छन् । मल्लकालीन शैलीमै पोखरी निर्माण गर्ने सरकारी लक्ष्यलाई महिलाले पछ्याउँदै पोखरी निर्माणमा नयाँ प्रयोग गरेका छन् । भक्तपुरको भाजुपोखरी निर्माणबाट अनुभव बटुलेका महिलाहरु पोखरी निर्माणमा कस्सिएका हुन् ।

रत्नपार्क र जमलको पुलबाट रानीपोखरी नियाल्दा हातमा पञ्जा र टाउकोमा फेटा गुथेका भक्तपुरे महिलाले रानीपोखरी पुनर्निर्माण गरेको देख्न पाइन्छ । उनिहरु बेल्चाले खन्ने, कालोमाटो  र चुना सर्की मुछ्ने काममा तल्लिन छन् । रानीपोखरी पुनर्निर्माणमा पुरुषभन्दा महिलाको संख्या पनि बढि छ ।

भाजु पोखरी निर्माण गरेको अनुभव रानीपोखरीमा खर्च

धेरैलाई अचम्म लाग्न सक्छ की रानीपोखरी निर्माणमा महिलाको प्रयोग किन भयो ? परम्परागत शैलीबाट भक्तपुरको भाजु पोखरी निर्माण गरेकै कारण ४९ जना महिला रानीपोखरी पुनर्निर्माणका लागि खटिएका हुन् । रानीपोखरी निर्माणको रोचक पक्ष त के छ भने कार्यरत मजदुरमध्ये २–४ जना मात्रै पुरुष रहेको भक्तपुरकी चण्डेश्वरी वमनु बताउँछिन् । ‘हामी पुरुषभन्दा कम छैनौं ।’ वमनुले भनिन्, ‘पुरुष दाजुभाइले गर्ने सबै काम हामीले गर्दै आएका छौं ।’

रानीपोखरी निर्माण गर्न पाउँदा भक्तपुरका महिलाहरु पनि उत्तिकै खुसी छन् । एकातिर सिपको प्रयोग भएको र अर्कोतिर जिविकोपार्जनमा टेवा मिलेको उनिहरुको तर्क छ । विवादमा तानिदैं आएको रानी पोखरीलाई सरकारले पुनर्निर्माण प्राधिकरणमार्फत् पुनर्निर्माण गर्ने निर्णय गरेपछि निर्माणको जिम्मा रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले पाएको हो । पुरुषहरुले वाल लगाउने काम गर्छन् भने महिलाहरुले भारी बोक्ने, खन्ने, माटो र मसला मुछ्ने काम गर्छन् ।

पुरुषको तुलनामा महिलाहरु कामप्रति बढि जिम्मेवार हुने र छिटो काम गर्ने भएकोले पनि रानीपोखरी निर्माणमा महिलाहरुको प्रयोग भएको उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरको भनाई छ ।

पोखरीको पानी अड्याउन नयाँ प्रयोग

यसअघि काठमाडौं महानगरपालिकाले नयाँ शैलीबाट रानीपोखरीको निर्माण थालेपछि विवादमा तानिएको थियो ।

सुरुमा सिंहदरबारले भाजु पोखरी निर्माणमा खासै विश्वास नगरेपनि त्यही शैलीको नमुना पोखरी रानीपोखरीभित्रै बनाएपछि काम अघि बढेको हो । अहिले पोखरी सम्याउने, वाल लगाउने काम धमाधम भइरहेको छ । पोखरीको पानी अड्याउन भक्तपुर र पनौतीबाट कालो माटो ल्याइएको छ । पोखरीमा पानी अड्याउन भक्तपुरका महिलाले बूढापाकासँगको सोधखोज, अनुभव र सीपबाट सिकेका हुन् ।