काङ्ग्रेस जागरण अभियानको प्रभाव कति ?

काङ्ग्रेस जागरण अभियानको प्रभाव कति ?


■ इन्द्रबहादुर बराल

नेपाली काङ्ग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान (प्रथम चरण) गत जेठ २५ गते सम्पन्न भएको छ । अत्यान्तै प्रतिकूल अवस्थामा सञ्चालन गरेको जागरण अभियानबारे विभिन्नखाले टीका–टिप्पणीहरू भइराखेका छन् । स्वतन्त्र एवम् निष्पक्ष टिप्पणीकारहरूको दृष्टिकोणमा ‘नहुनु मामाभन्दा कानो मामा निको’ भन्ने सुनिन्छ । हुन पनि आपसमा छिनाझपटी गरेर सानेपा बीपी नगरमा जिन्दाजाद र मुर्दावादको नारा घन्काउनुलाई ठूलै उपलब्धि या सफलता ठान्नुभन्दा त जिल्ला–जिल्लामा कार्यकर्ता परिचालन मात्रै पनि राम्रै उपलब्धि हो । किनकि यसबीचमा अर्थात् गत वैशाख २५ गतेबाट यही जेठ २५ सम्म अन्य समयभन्दा निकै कम नकारात्मक टीका–टिप्पणी भएका छन् ।

यसले के प्रस्ट पार्छ भने पार्टी नेतृत्वले कार्यकर्तालाई बेरोजगार बनाइराख्नाले धेरै नकारात्मक क्रिया–प्रतिक्रिया आउँदा रहेछन् भन्ने प्रमाणित गर्दछ । ढिलै भए पनि कामकाजी नेता–कार्यकर्ताबाट अब पार्टीको नीति, कार्यक्रमका साथै सरकारको गलत र भ्रष्ट कामबारे जनसमक्ष पुऱ्याउने काम भएको छ । दोस्रो र तेस्रो चरणको जागरण अभियान प्रथम चरणको भन्दा धेरै प्रभावकारी बनाउने काममा पार्टी नेतृत्व अरू बढी गम्भीर हुनुपर्छ । चुनावी पराजयबाट जिल्ला–जिल्ला र गाउँ/नगर तथा वडावडामा निराशाजनक अवस्थामा रहेका मतदातालाई समेत उत्साह जगाउने कार्यमा निःसन्देह जागरण अभियान फलदायी भएको हुनुपर्छ । निरन्तर रूपमा नेताहरूको जिल्ला दौडाहा भइरहँदा कार्यकर्ताहरू पार्टीको आन्तरिक कलहमा खर्चिने ऊर्जा सङ्गठन विस्तारतर्फ लाग्ने हुँदा यस्ता कार्यकर्ता परिचालित गर्ने कार्यमा अत्यन्तै गम्भीरतापूर्वक जाग्नुपर्छ ।

यो समय नेपाली काङ्ग्रेसको लागि ज्यादै राम्रो र अनुकूल समय हो सङ्गठनलाई सुदृढीकरण र चुस्तदुरुस्त बनाइराख्न । यद्यपि, काङ्ग्रेस कहाँ चुक्यो भन्ने कुरा स्वतन्त्र रूपले समीक्षा अझै भएको छैन । आग्रह र पूर्वाग्रह राखेर गरिने समीक्षाले ठीक निष्कर्षमा पुग्न पनि सकिँदैन । त्यसकारण अबको समय भनेको पार्टीको नीति, कार्यक्रमलाई जनमुखी बनाउँदै आमनेपालीको मन जित्ने खालको हुनुपर्छ । त्यही दिशामा पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानलाई आवश्यक निर्देशन तथा परिचालन गर्नुको विकल्प छैन । साथै पार्टी विधानले परिकल्पना गरेका विभागहरू अविलम्ब गठन गरी कार्यकर्तालाई जिम्मेवारी दिन पटक्कै ढिला गर्नुहुँदैन ।

गमक्क पर्ने र ठालु देखिने चरित्र काङ्ग्रेसमा बढी नै छ । जातीय उत्पीडनका कारण कुण्ठा बोकेर बसेका कथित दलितको मनोभावना उच्च पार्ने कोसिस गर्नुपर्छ र भरसक उनीहरूसँगै बस्ने–खाने गर्दा झनै राम्रो हुन्छ ।

सङ्गठन, प्रचारप्रसार, युवा विद्यार्थी, महिला, दलित, मधेसीलगायत थुप्रै महत्वपूर्ण विभाग गठन गर्न ढिलाइ भएको छ । जसबाट धेरै ऊर्जाशील, क्षमतावान र इमानदार कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । यसतर्फ पनि काङ्ग्रेसको केन्द्रीय नेतृत्वले ध्यान पुऱ्याउनुपर्छ । बाँकी दुई चरणका जागरण अभियानलाई थप प्रभावकारी बनाउन पहिलो कार्यक्रमबाट प्राप्त अनुभवलाई सहायकसिद्ध बनाउन आवश्यक छ ।

निश्चिय पनि प्रथम चरणको राष्ट्रिय जागरण अभियानको गम्भीर बहस, छलफल र समीक्षाले आगामी कार्यक्रमलाई थप फलदायी बनाउने अपेक्षा आमकाङ्ग्रेसजनमा छ । जागरण अभियानको उद्देश्य वर्तमान सरकारको विरोध मात्रै अवश्य होइन । जागरण अभियानले आमनेपाली जनतालाई राजनीतिक–सामाजिक रूपन्तरणलगायतको विषयलाई अझ उन्नत ढङ्गले तीव्र गतिमा अघि बढाउनुपर्ने देखिन्छ । राजनीति केवल पद, पैसा र प्रतिष्ठा मात्रै ठानिएको वर्तमान परिप्रेक्ष्यलाई चिर्दै राजनीति निश्चित आदर्श, निष्ठा, पद्धति हो भन्ने कुराको बोध गर्नु/गराउनु अहिलेको टड्कारो आवश्यकता हो ।

काङ्ग्रेसले दोस्रो र तेस्रो जागरण अभियानमा राजनीति भनेको पद, पैसा र प्रतिष्ठालाई सबथोक ठानिएको अवस्थालाई पन्छाउँदै सही दिशामा समाजलाई डोऱ्याउनु सक्नुपर्छ । जस्तो एउटा असल र कर्तव्यनिष्ट शिक्षकले भोलिको लागि आजै पाठय–योजना बनाउँछ, त्यसैगरी पार्टीले पनि कार्यकर्ता तहमा मात्रै नभई समग्र समाजलाई दिशा–निर्देश गर्ने कार्यक्रमहरू बनाएर जनसमक्ष जानुपर्छ । जागरण अभियानमा चाहिने सामग्रीहरूमध्ये नेपाली काङ्ग्रेसको सरकारको नेतृत्वमा भए–गरेका महत्वपूर्ण कार्यहरूको पनि व्यापक प्रचारप्रसार गर्न आवश्यक छ । काङ्ग्रेस सरकारले गरेका जनपक्षीय कामहरूको आधिकारिक तथ्यहरूको अभिलेख सबै जागरण अभियन्ताहरूको जानकारीमा हुनुपर्छ ।

अभियन्ताहरूको बोली र व्यवहार : नम्र बोल्दैमा कोही सानो हुँदैन– अब्राहम लिङ्कनको भनाइ अत्यन्तै सान्दर्भिक हुन्छ अभियन्ताहरूलाई । अरूबाट जयनेपालको अभिवादन आफूले लिने लालच छाडेर आफैँले सर्वसाधारण जनता र कार्यकर्तालाई अभिवादन गर्ने बानी बसाल्नुपर्छ ता कि त्यस्तो व्यवहारले कार्यकर्ताको आफूप्रति आकर्षण बढाओस् । यस्तै, अन्य बानी–व्यहोरा पनि सरलभन्दा सरल प्रदर्शन गर्नु सङ्गठनका लागि लाभदायक हुन्छ । समाजमा उपेक्षित, उत्पीडित वर्गका मानिसहरूप्रति पनि अत्यन्तै विनम्रतापूर्वक प्रस्तुत हुने र उनीहरूभित्र गुम्सिएर रहेको हीनताबोधलाई न्यूनीकरण गर्ने प्रयत्न गर्नुपर्छ । जातीय उत्पीडनका कारण कुण्ठा बोकेर बसेका कथित दलितको मनोभावना उच्च पार्ने कोसिस गर्नुपर्छ र भरसक उनीहरूसँगै बस्ने–खाने गर्दा झनै राम्रो हुन्छ । गमक्क पर्ने र ठालु देखिने चरित्र काङ्ग्रेसमा बढी नै छ ।

प्रथम चरणको राष्ट्रिय जागरण अभियान ‘नहुनु मामा भन्दा … मामा निको’ मात्रै भनेर बुझ्दा हुन्छ । जे होस्, आपसमा बाझाबाझ गरेर बसिने एक महिना रचनात्मक दिशामा केन्द्रित हुँदा पनि पार्टीलाई लाभ नै भएको छ ।

कम्युनिस्टहरू देखावटी नै भए पनि दलितहरू र आर्थिक रूपले विपन्न गरिबबीचमा जाँदा ठ्याक्कै मन जित्ने गरेको अनुभव छ । त्यसकारण कोही धनी होस् वा गरिब, तथाकथित ठूलो जाति होस् वा सानो बोली–व्यवहारमा भेदभाव हुनुहुँदैन । पार्टी नेतृत्व र सङ्गठनको जिम्मेवारी लिनेहरू जति सक्यो सरल, सहज र नम्र हुनु पहिलो सर्त हो । सङ्गठकहरूले यो मूलमन्त्र कहिल्यै बिर्सन नहुने सर्त हो । जहाँ सरलता र नम्रता हुन्छ त्यहाँ कार्य फत्ते गर्न त्यति नै सहज हुन्छ । सामान्य कार्यकाण्डीय हिसाबले सङ्गठन विस्तार र विकास हुन सक्दैन भन्ने हेक्का राख्नैपर्छ । प्रथम चरणको राष्ट्रिय जागरण अभियान ‘नहुनु मामा भन्दा … मामा निको’ मात्रै भनेर बुझ्दा हुन्छ । जे होस्, आपसमा बाझाबाझ गरेर बसिने एक महिना रचनात्मक दिशामा केन्द्रित हुँदा पनि पार्टीलाई लाभ नै भएको छ ।

काङ्ग्रेसको आदर्शबारे चर्चा : हुन त मुलुकको राजनीतिमा कतै आदर्श पनि छ र भन्ने प्रश्न उठ्ने गरेको छ । केही नकारात्मक सन्देशहरू जनतामा प्रवाहित हुँदा प्रश्न उठ्नु स्वाभाविक पनि हो । विगतका सरकारहरूका पालामा भ्रष्टाचार हजार–लाखमा सुनिन्थ्यो । तर, वर्तमान सर्वशक्तिमान ओली सरकारमा त करोड, अर्ब मात्रै नभई खर्बका भ्रष्टाचारका चर्चाले जनतामा निराशा छाएको छ । त्यसैले आदर्शको कुरा गर्दा जनताले पत्याउनै छाडेको अवस्था छ । राजनीतिक र सैद्धान्तिक रूपले कम्युनिस्टभन्दा त काङ्ग्रेस ठीक छ भन्ने सन्देश दिन सक्नुपर्छ । किनकि सत्तारुढ पार्टीका दुई खेमामध्ये न त जबज नै आत्मसात् गऱ्यो न माओवाद । यी पूर्वएमाले र माओवादी दुवै शक्तिले आफ्ना राजनीतिक र सैद्धान्तिक धरातल छाडेका वा बिर्सेकाहरूले मुलुकलाई सही गन्तव्यमा पुऱ्याउन सक्दैनन् भन्ने सन्देश जनतामा पुऱ्याउन आवश्यक छ । यसको लागि काङ्ग्रेसले के–कस्तो गृहकार्य गर्नुपर्छ, बेलैमा सोच्नुपर्छ । राष्ट्रको ढुकुटी कार्यकर्तालाई आफूखुशी बाँडेर सरकारले देश कङ्गाल तुल्याउने र बाह्य प्रभावमा परेर देशको अस्तित्वसमेत मेट्ने मेलोमा लागेको देखिन्छ । यस्ता विषयलाई पनि जागरण अभियानको अङ्ग बनाउँदा राम्रो हुन सक्छ ।

आज सिङ्गो मुलुक नेपाली काङ्ग्रेसको आदर्श राष्ट्रिय, लोकतन्त्र र समाजवादतर्फ अग्रसरजस्तो देखिँदै छ । यस्तो अवस्थामा कतै काङ्ग्रेसको आदर्श अरू कसैले उछिट्याउने त होइनन् भन्ने चिन्तासमेत प्रकट हुँदै छ । यस परिस्थितिमा नेपाली काङ्ग्रेस लामो मात्रै नभई गौरवशाली इतिहासले निर्माण भएको पार्टीलाई चौतर्फी टड्कारो महसुस हुनेगरी गतिशील ढङ्गले अघि बढाउन राष्ट्रिय जागरण अभियानबाट अपेक्षा गरिएको छ । राष्ट्रिय जागरण अभियान भने पनि सङ्गठन विस्तार नै गर्नु हो । सङ्गठन विस्तारको लागि अपनाउनुपर्ने नीति र कार्यक्रमको तर्जुमा अझै कहीँ कतै कमजोर छ भने सच्याएर जानुपर्छ ।

यसर्थ, अबका दिनमा काङ्ग्रेस आपसी विवाद र मनमुटावलाई बिर्सेर एकमनका साथ सङ्गठनलाई चुस्त–दुरुस्त बनाउने काममा लाग्नुपर्छ । भोलिको नेतृत्व कसले लिने भन्ने विषयलाई अहिले थाती राखेर राष्ट्रिय जागरण अभियानलाई पूर्ण सफल पारौँ यसैबाट काङ्ग्रेस जागरण अभियानको प्रभावकारिताको कसीमा खरो उत्रनेछ ।