प्रहरी गाडी दुर्घटना प्रकरण : मृतक परिवारले १० लाख क्षतिपूर्ति पाउने

प्रहरी गाडी दुर्घटना प्रकरण : मृतक परिवारले १० लाख क्षतिपूर्ति पाउने


■ सागर संगम, रौतहट

रौतहटमा म्याद थमाउनको लागि जिल्ला अदालत गौर जाने क्रममा गत मंगलबार प्रहरीको गाडी दुर्घटना भई ज्यान गुुमाएका थुनुवाहरूको परिवारले १० लाखका दरले क्षतिपूर्ति पाउने भएका छन् ।

प्रहरीको लापर्वाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा प्रदर्शन गर्दा क्षतिपूर्ति दिने नियर्णमा सहमति भएपछि मृतकका आफन्तले दाहसंस्कारका लागि शव बुझेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बसेको बैठकमा स्थानीय जनप्रतिनिधि, प्रहरी र मृतकका आफन्तबीच क्षतीपूर्तिका लागि सहमति भएपछि बुधबार अपरान्ह ४ बजे मृतकका परिवारजनले शव बुझेका थिए । मृतक परिवारलाई जनही १०–१० लाख रुपैयाँ, मृतकका श्रीमतीलाई क्षमताअनुसारको रोजगारी र उनका बालबालिकालाई निःशुल्क शिक्षा दिने सहमति भएको चन्द्रपुर–५ का मृतक थुनुवा निर्मल साहकी आमा गायत्री साहले बताइन् ।

बैठकको निर्णय कार्वान्वयनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत गृहमन्त्रालयलाई सिफारिस गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । सहमतिपछि मृतकका आफन्तहरू शव बुझ्न नारायणी अस्पताल वीरगञ्ज गएका थिए ।

सो बैठकमा संघीय सांसद देवप्रसाद तिमलसिना, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठक र मृतकका आफन्तहरुको उपस्थिति रहेको थियो ।

प्रहरीको लापार्वाहीका कारण थुनुवाको ज्यान गएको भन्दै मृतकका आफन्तले केही समय चन्द्रपुरको मुख्य बाटोमा चक्काजाम समेत गर्नुका साथै प्रहरीको कार्यलयमा धर्ना दिएका थिए ।

वीरेन्द्र राजमार्ग चन्द्रपुर नगरपालिका–१० बालचनपुरमा भएको सवारी दुर्घटनामा दुई थुनुवाको मृत्यु भएको थियो भने प्रहरीसहित अन्य ८ जना घाइते भएका थिए । भ्यानको अगाडिको चक्का पङ्चर भई क्राउन र एक्सल भाचिँदा दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा परेर लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर–४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा–१ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घटनास्थलमै ज्यान गएको भएपनि प्रहरीले उपचारका लागि भन्दै वीरगञ्ज लगेको स्थानीयको भनाइ रहेको छ । दुर्घटनामा प्रहरी जवानद्वय हरिकिशोर चौधरी र अजय यादव गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेको गाडी इलाका प्रहरी कार्यालयको चन्द्रनिगाहपुरको नभएको पाइएको छ ।

काठचोरीमा प्रयोग भएको बोलेरो पिकअप गाडी जिल्ला वन कार्यालयले करिव ६ महिना अगाडी बरामद गरेको थियो । उक्त गाडीलाई मर्मत नै नगरी म्याद थपका लागि आरोपीहरूलाई लैजाने क्रममा १० जना चढेका थिए । गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको स्थानीयवासी बताउँछन् ।