तीन दशकपछि सडक कालोपत्रे हुँदै

तीन दशकपछि सडक कालोपत्रे हुँदै


डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो । पूर्वाधार विकास कार्यालय डडेल्धुराको करीब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सिएसटी प्रविधिमा सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रे भएपछि भित्री मधेशका आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका साथै भागेश्वर गाउँपालिकाकाको वडा नम्बर १ र २ का केही गाउँका स्थानीय लाभान्वित हुने परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताए । खोलामा पुल निर्माण नहँुदा वर्षातको समयमा यात्रुलाई केही असजिलो हुने भएकाले पुल निर्माण गर्नका लागि पहल गरिरहेको उनको भनाइ थियो ।

जिल्लाकै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रको प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन हुने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ । स्थानीय उत्पादनलाई सहजरूपमा अन्यन्त्र पठाउन पनि सहज हुने स्थानीयको भनाइ छ ।