रारा, झिँगा र ‘बोलक्कड’ प्रधानमन्त्रीको झिँगेदाउ !

रारा, झिँगा र ‘बोलक्कड’ प्रधानमन्त्रीको झिँगेदाउ !


■ भरत कोइराला

समृद्धिको कुरा गर्ने प्रधानमन्त्री केपी ओलीले गत वर्षको नयाँ वर्षका दिन रारातालको डिलमा बसेर कर्णाली अञ्चलमा वर्षको दश लाख पर्यटन भित्र्याउने सङ्कल्पका साथ जुन नारा दिएका थिए, त्यो नारा र सङ्कल्पलाई पछ्याउँदै के–के न विकास भइसक्यो होला भनी देशका प्राकृतिक र धार्मिक स्थल भ्रमण गर्ने जिज्ञासाका साथ काठमाडौंबाट यही ०७६ जेठ ३१ गतेका दिन रारा पुग्ने उद्देश्यका साथ हामी चारजना यात्रामा निस्कियौँ । यात्रा टोलीमा थियौँ– मदनराज शर्मा, लोकेश ढकाल, रमेशचन्द्र कोइराला र पङ्क्तिकार । सोधपुछ गर्दा थाहा लाग्यो– यतिखेर रारा यात्राको लागि मौसम साँच्चिकै ‘सुहाना’नै रहेछ । जानैपर्ने, पुग्नैपर्ने, हेर्नैपर्ने र मन्त्रमुग्ध हुन पाउने ताल रहेछ– रारा । तर, प्रधानमन्त्री ओलीको नाराचाहिँ जनता झुक्याउने ‘गफ’ मात्र पो रहेछ भन्ने अनुभूति पनि भयो यो यात्रामा ।

यसैक्रममा काठमाडौंबाट जेठ ३१ गतेका दिन ४ः१५ को यती एयरबाट हामी चारजना नेपालगन्जका लागि उड्यौँ । प्लेनभित्र पस्नेबित्तिकै नेपालगन्जको गर्मी सम्झेर पसिना आउन शुरु भएको थियो । त्यही समयमा एयरहोस्टेसले पसिना पुछ्ने सुगन्धित नेपकिन दिइन्, त्यो नेपकिनले केही राहत त मिलेको थियो । तर, काठमाडौंको २९ डिग्री गर्मीबाट हिँडेका हामी नेपालगन्ज एयरपोर्ट उत्रँदै गर्दा त ३९ डिग्री पो भन्छ प्लेनले । बाहिर उत्रँदा आगोको रापमा परिएजस्तै भयो– साँझ ५ः१५ को समयमा पनि ।

अत्यधिक गर्मीका बीच ‘किचेन हट’ नामक एक स्तरीय होटेलमै बास बसियो– धन्न होटेलभित्रको एसीले रात कटाउन त्यति सकस परेन । होटेलमा अनौठो त के भयो भने बाथरुममा चिसो पानी आउने पाइपबाट पनि दिनभरको गर्मीले तातैपानी आउने । नेपालगन्जमा आयल निगमका मनहर डीसीले प्लेनदेखि होटेलसम्म मात्र नभई पूरै नेपालगन्ज बजार साँझमा उहाँको एसी गाडीमा राखेर घुमाई माया दिनुभयो । त्यति मात्र नभई उहाँले त भोलिपल्ट बिहान त्यहाँको प्रसिद्ध मन्दिरको दर्शन गराउँदै बिहान ११ बजेको तारा एयरबाट ताल्चा विमानस्थल जान एयरपोर्ट पुऱ्याई बिदाइ गर्नुभयो ।

सानो ‘तारा एयर’ ३५ मिनेटमा पुगिन्छ भन्थे– तर ४५ मिनेट जति लाग्यो होला । हुम्ला, जुम्ला, मुगु कर्णालीका विकट जिल्लाका नाङ्गा पहाडमाथि उड्दै घरी–घरी कर्णाली नदीको किनार पनि हेर्दै मुगुको सदरमुकाम गमगढी नजिक (करिब १ घन्टा टाढा)को ताल्चा विमानस्थलमा ओरालिदियो । सानो विमानस्थल, तर कालोपत्रे गरिएको अग्ला–अग्ला डाँडामाथि हुँदै सानो विमानमा उड्दा डर त लागेकै हो । तर, पहाड, हरियाली, हिउँका थुम्का हेर्दै आउँदाको सुन्दर दृश्यले ध्यान त रमाइलोमै रग्मगियो । पहिले नेपालगन्जलाई झिँगा नै झिँगा भएको बजार मानिथ्यो, अहिलेचाहिँ धेरैजसो झिँगा त ताल्चा विमानस्थलछेउका भात खाने होटेलमा पुगेका रहेछन् । त्यति मात्र होइन, राराताल अनि प्लेनभित्रै पनि झिँगाले चाहिँ नछोडेको एयरहोस्टेसको पनि भनाइ थियो ।

ताल्चा विमानस्थलबाट राराताल जान दुईवटा मार्ग रहेछन् । एउटा गमगढी सदरमुकाम हुँदै गाडीको बाटोबाट २–३ घण्टामा राराताल पुग्ने, अर्कोचाहिँ विमानस्थलबाट करिब डेढ घन्टा घुर्माइलो उकालो हुँदै रारातालको एक छेउमा पुगिने र तालको किनारैकिनार हुँदै डेढ घन्टा हिँडेपछि बास बस्ने स्थल होटेल, ब्यारेक भएको ठाउँमा पुगिँदोरहेछ । हामी पैदल हिँड्दै जाने निर्णय गरी एयरपोर्टकै एक होटेलमा झिँगैझिँगाका बीच खाना खाएर एक रावल थरका युवालाई भरिया बनाई लाग्यौँ उकालो । डेढ घन्टामै राराको एक किनारमा पुगेर किनारैकिनार अर्को डेढ घन्टा होटेल भएको ठाउँमा राराको फरक–फरक दृश्य मोबाइलमा कैद गर्दै अघि बढ्यौँ । त्यो डेढ घन्टामै हेर्नुपर्ने तालको बनावट, त्यसको लम्बाइ–चौडाइ, बिहानदेखि बेलुकीसम्म फेरिने रूपरङ्ग हेर्दै वासस्थानसम्म पुग्यौँ ।

संयोगले सहयात्री मित्र लोकेश ढकालका काठमाडौंका एक मित्रको ‘फोन कल’मार्फत ब्यारेकको अतिथिगृहमा बास बस्ने मौका मिल्यो । ब्यारेकका मित्रहरू सहयोगी भावनाका रहेछन् । दुःखसुखका कुराहरू आदानप्रदान भयो । जाडो मौसममा हिउँ नै हिउँका बीचमा बस्नुपरेको कष्ट तथा जनजीवनमा परेको असर सुन्दा १४–१५ वर्ष जेलजीवन बिताएर निस्केका ओलीले दिने गरेका समृद्धिको नारा त भाषणमै मात्र सीमित रहेछ जस्तो लाग्यो । गफ दिन खप्पीस रहेछन् हाम्रा प्रधानमन्त्री भन्ने अनुभूतिका कारण रारा पुग्दा पनि मन खिन्न भयो ।

रारा तालवरिपरि घुम्न चार घन्टाजति लाग्ने, करिब १४–१५ किलोमिटर लम्बाइ भएको, यसै त यसको पूर्व–पश्चिम लम्बाइ औसत ५ किलोपमटर, चौडाइ औसत ३ किलोमिटर, गहिराइ १६७ मिटर भनिँदो रहेछ । तालको क्षेत्रफलचाहिँ १०.८ वर्गकिलोमिटर रहेछ । तालको चारैतिर हरियाली जङ्गलसहित पहाड, होचै देखिए पनि मानवबस्ती कतै नदेखिने, ती जङ्गल र पहाड मात्र ताललाई सुरक्षा दिएर राख्न खडा भएजस्तो देखिँदो रहेछ । तालमा पानी वरिपरिको जङ्गलबाट रसाएर आउने तथा पश्चिमी भागको एक छेउबाट निकास हुँदोरहेछ । मुगु जिल्लाका दुई गाउँपालिका र एक नगरपालिकाभित्र यो ताल पर्दोरहेछ । ती तीन ठाउँको जनसङ्ख्या १३,८७६ र घरधुरी २,५४८ रहेछ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने राराताल प्रवेश गर्न प्रतिव्यक्ति शुल्क सयदेखि लिएर निकुञ्जका आ–आफ्नै प्रकारका नियमहरू हुँदारहेछन् । त्यत्रो ठूलो निकुञ्ज क्षेत्रभित्र कस्तुरी, मृग, रेडपाण्डा, कालो भालु, डाँफे, चीर, कालिज पाइँदारहेछन् भने तालभित्र हिमाली असला माछा, उभयचर र पाहा भ्यागुता पाइँदोरहेछ । वरिपरिको जङ्गलमा प्रायः सल्लो नै बढी तथा ठाउँठाउँमा लालीगुराँसका रूख पनि रहेछन् । २९९० मिटर उचाइमा रहेको तालको छेउछाउ, वरिपरि आन्तरिक पर्यटक हामीजस्तै फाट्टफुट्ट देखिने मात्र हुँदोरहेछ । घोडा, खच्चड भने अलिअलि देखिइरहन्थे । त्यत्रो तालको वरिपरि सैनिक ब्यारेकको ४–५ वटा क्षेत्र बन्दीसहितका घर, निकुञ्जको अफिस र दुईवटा ठिकठिकैका झिँगैझिँगा भरिभराउ हुने होटेलबाहेक त्यत्रो ठूलो क्षेत्रमा कहीँ कतै केही देखिन्नथ्यो । रारातालको पूर्वमा डोल्पा, पश्चिममा हुम्ला, दक्षिणमा जुम्ला र उत्तरमा डोल्पा चीनसँग सीमा जोडिएको रहेछ ।

रारातालको किनारामा बसेर बिहानै रारा, दिउँसोको रारा, तीन–चार बजेतिरको रारा, साँझ र राति आठ–नौ बजे चन्द्रमाको प्रकाशमा देखिने राराका विभिन्न रूपहरू हेर्दै गफ गर्दै मोबाइलमा कैद गर्दै समय बित्यो । हाम्रो फर्कने टिकट सोमबार २ असारको हुँदा १ असारका दिन रारावरपरको भ्युटावर जस्तै ‘मुर्मु भ्यु टप’ जाने भइयो । बिहान ८ः३० नास्ता गरेर निस्किएका हामीलाई रारा तालदेखि करिब २ हजार फिट उचाइ रहेको मुर्मु टावरतिर उकालो ३ घन्टासम्म जङ्गल नै जङ्गलको बाटो हिँड्दा पनि मान्छेको आवातजावत पटक्कै पाइएन । मुर्मु पुग्ने बेलाका हामीभन्दा अघि गएर फर्केका दुईजनालाई भेट्दा ‘माइती गाउँको कुकुर प्यारो’ भनेजस्तै भयो ।

मुर्मुकै छेउमा पुगी फर्कने निर्णय गऱ्यौँ । मुर्मुको टुप्पोमा पुगेर तल हेर्दा प्लेनबाट हेरेझैँ रारा तालवरपर देखिने, हुम्ला जिल्लाका डाँडापाखा सबै देखिने भनिएको थियो । रारातालकै किनारामा दुई रात बिताइएको प्लेनबाट सबै डाँडाकाँडा देखिने नै भएकाले मुर्मु टावरलाई हामीले त्यति महत्व दिएनौँ । निकुञ्जका कर्मचारी र मुर्मु पुगेर आउनेहरूका अनुसार हामीले जो निर्णय गऱ्यौँ त्यो सही नै रहेछ । त्यसरी करिब ३ घन्टा उकालो र फर्कंदा २ घन्टाको ओरालो झर्दा शरीर यति थाकेछ कि बेलुकी एक क्वार्टर ‘बिजुलीपानी’ले बल्लतल्ल शरीरलाई राहत मिल्यो, तर त्यो ‘बिजुलीपानी’ लिनेका लागि मात्र, नलिनेहरू त हेरेको हेऱ्यै !

प्रधानमन्त्री ओलीको समृद्धिको नाराको प्रभाव त त्यहाँ पनि राम्ररी पर्न गएको महसुस गरियो । केही गाउँलेसँग कुराकानी गर्दा बुझियो– त्यत्रो ठूलो आकर्षणले भरिएको रारातालको क्षेत्रका जम्मा दुईवटा होटेल डाँफे र हेरिटेज प्लाजा रहेछन् । झिँगैझिँगाले भरिएका ती होटेलमा अर्डर गरेपछि प्रायः भेज खाना सस्तै बन्दोरहेछ । तर, त्यत्रो ठूलो तालको वरिपरि कसैलाई पनि चिया–नास्ता गर्ने–गराउने होटेल खोल्न दिइएको रहेनछ । कारण बुझ्दा प्रधानमन्त्री ओलीकै सांसदको त्यो होटेल पनि भएको र अरू होटेल थपिए । होटेलवालालाई प्राप्त हुने समृद्धि विराजित हुने भएकाले अप्रत्यक्ष प्रतिबन्ध लागेजस्तै भएको रहेछ । रारातालको बसाइ क्षेत्रको अर्कोतर्फ डुङ्गामा जान ४५–५० मिनेट लाग्दोरहेछ भने पैदल नै घुमेर जाँदा पनि त्यति नै समय लाग्ने रहेछ ।

तालवरिपरि हिँड्ने सडकचाहिँ सेनाले राम्रै बनाएको रहेछ । त्यही सडकलाई सामान्य स्तरोन्नति गरी ई–रिक्सा चलाएका, होटेल थपेका मुगु, हुम्ला, जुम्लाका पिछडिएका जनताले रोजगारमा केही राहत पाउँथे कि भन्ने त्यताका मान्छेको सोचाइ रहेछ । तालको अर्कोपट्टि पुगेर अझै गाडीसम्म पुग्न २०–२५ मिनेट हिँड्नुपर्दो रहेछ । गाडीबाट जाने व्यक्ति वा सामानहरू त्यहाँबाट खच्चडमा ती होटेल भएको क्षेत्रमा लगिँदोरहेछ । आन्तरिक पर्यटक तान्ने योजना र पीडित जनताले रोजगार पाउने लक्षण कतै कहीँ देखिएन अनि सुन्न, पढ्न पनि पाइएन । निकुञ्जका कर्मचारीले निकुञ्ज रुङ्ग्ने, ब्यारेकले आफ्नो क्षेत्रको सुरक्षामा ध्यान दिने, १२–१५ जना व्यक्तिले आफ्ना खच्चर–घोडालाई सामान र व्यक्ति ओसार–पसारमा प्रयोग गर्ने गरेको पाइयो । तर, त्यस्तो राम्रो उपयुक्त समयको मौसममा पनि हामीबाहेकको यात्रु टोली २–४ जनाको एउटा मात्रै भए जस्तो लाग्यो । यस्तो अवस्थामा ती घोडा र खच्चर डो¥याउनेहरूले कसरी पेट पाल्ने ?

प्रधानमन्त्री ओलीले गत सालको नयाँ वर्षमा त्यही रारातालको डिल (हेलिप्याड) मा बसेर देशवासीका नाउँमा सम्बोधन गर्दै कर्णालीमा दशौँ लाख पर्यटक भित्र्याउने भनी गरेको भाषण यदि साँच्चै अन्तस्करणको सोचाइ रहेको थियो भने त्यत्रो ठूलो पर्यटकीय स्थलमा विदेशीको कुरै छोडौँ, आन्तरिक पर्यटकलाई सहज हुने केही योजना त सार्वजनिक हुन्थे कि ? यी र यस्तै कुरा गर्दै भ्रमण टोली भोलिपल्ट बिहान ७ बजे ताल्चा विमानस्थलतर्फ प्रस्थान गर्दा एक घन्टा तालको किनार र अर्को एक घन्टामा विमानस्थल आइपुगियो । झिँगा पन्छाउँदै भात खाएर प्लेन चढियो । संयोग कस्तो भयो भने ११ बजेदेखि बेलुकी ५ बजेसम्म नेपालगन्जको गर्मी खाएर बस्नुपर्ने प्लेनको टिकटको सेड्युल भएकोमा ताल्चाबाट ११ बजेतिर नेपालगन्ज उत्रनेबित्तिकै ‘कारणवश’ ढिलो भएको यती एयरको काठमाडौं उडान केही सिट खाली रहेको विमान भेट्यौँ, जसले गर्दा करिब ५ घन्टाको समय नेपालगन्जको आगोको रापजस्तै घामको रापबाट जोगिन पाइयो । यात्रापछि पनि प्रधानमन्त्रीको ‘गफ’अनुसारको काम केही नभएको अवस्थाले आगामी ‘पर्यटन वर्ष’को हाल ‘बेहाल’ हुने सम्भावित अवस्थाले चाहिँ हामीलाई चिन्तित तुल्याइरह्यो ।