दुई अध्यक्षबीच शीतयुद्ध शुरु : अन्तिम लडाइँमा प्रचण्ड

दुई अध्यक्षबीच शीतयुद्ध शुरु : अन्तिम लडाइँमा प्रचण्ड


केपी शर्मा ओलीले तीन वर्ष र पछिल्लो दुई वर्ष प्रचण्डले सरकार चलाउने भनी डेढ वर्षअघि भएको आपसी सम्झौता तोडेर अघि बढ्ने योजना नेकपाका सहअध्यक्ष प्रचण्डले बनाएपछि नेकपाभित्र तनाव उत्पन्न भएको छ । उनी ओलीलाई प्रधानमन्त्री पदबाट जति सकिन्छ चाँडो हटाउन चाहन्छन् र त्यसनिम्ति आन्तरिक गृहकार्यमा जुटिरहेका छन् ।

गुठी विधेयक प्रकरणमा ओली रक्षात्मक बनेपछि प्रचण्डको हौसला निकै बढेको छ र उनले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट मुक्त गरिदिने तानाबाना बुनेको जानकारी प्राप्त भएको छ । त्यस निम्ति प्रचण्डले वामदेव गौतमदेखि घनश्याम भुसाल, मुकुन्द न्यौपानेदेखि बेदुराम भुसाल र माधवकुमार नेपालदेखि योगेश भट्टराईसम्मलाई आफ्नो पक्षमा उभ्याउने अन्तिम कसरत गरेका छन् र यसमा उनलाई धेरै हदसम्म सफलता पनि प्राप्त भइसकेको बुझिन्छ ।

प्रचण्डले नेताहरू नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डेलाई त आफ्नो मुठ्ठीकै ठानेका छन्, झलनाथ खनाल र भीम रावलले पनि बलियो साथ दिनेमा प्रचण्ड विश्वस्त रहेको बताइन्छ । ‘एमाले’भित्रकै नेताहरूको ठूलो सङ्ख्या आफ्नै पक्षमा देख्न थालेकोले प्रचण्डको हौसला बढेको र पूर्वसहमतिअनुरूप तीन वर्षसम्म केपीलाई नपर्खने निष्कर्षमा उनी पुगेको बुझिएको छ ।

सरकारको काम नदेखिएको, प्रधानमन्त्री ओलीको लोकप्रियतामा ह्रास आएको र पार्टीभित्र ओलीप्रतिको असन्तुष्टि चरमोत्कर्षमा पुगेको ठहरसहित प्रचण्डले केपीलाई ‘सिध्याइदिने’ योजना बनाएका हुन् । ओलीलाई सबभन्दा पहिले प्रधानमन्त्री पदबाट हटाउन संसदीय दलको नेता पदबाट विस्थापित गरिदिने, त्यसपछि पार्टी जिम्मेवारीबाट मुक्त गर्ने योजना प्रचण्डको भएको र सकेसम्म आगामी महिना दिनभित्रै प्रधानमन्त्री बदल्ने चाहना प्रचण्डले राखेको बुझिन्छ ।

केपीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइने र आफू एकल अध्यक्ष बन्ने प्रचण्डको आकाङ्क्षा कसरी पूरा हुन सक्ला, यो रोचक जिज्ञाशाको विषय बनेको छ । माधवकुमार नेपाल निर्णायक भूमिकामा रहेकोले नेपाललाई खुसी तुल्याउन जेसुकै गर्ने मानसिकतामा प्रचण्ड रहेको र सोहीबमोजिम नेपालसँग समझदारी बनेको बताइन्छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रचण्डका चाल राम्रैसँग बुझिरहेकाले त्यति सजिलै सरकार परिवर्तनको बाटो खुल्ने देखिँदैन । एमालेका धेरैजसो नेता केपीले ‘एक्सेस’ नदिएकाले मात्र उनीप्रति असन्तुष्ट भएका हुन् । ओलीले महत्व दिनेबित्तिकै एमालेका कुनै पनि नेताले प्रचण्डलाई साथ दिने विश्वास गरिँदैन । स्वयम् वामदेव गौतमको समेत अन्तिम अवस्थामा प्रचण्डलाई साथ रहने सम्भावना कम भएको ठानिन्छ ।

माधव नेपाललाई पार्टीभित्र ‘लुलोगोडा भएको’ नेताका रूपमा लिइन्छ र बालुवाटार जमिन घोटाला प्रकरणलाई मात्र कारबाहीमा लैजाने गरी केपीले प्रक्रियालाई गति दिए भने नेपालले ओलीसमक्ष आत्मसमर्पण गर्ने स्थिति रहेको छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरी केही युवा नेतालाई जिम्मेवारी दिने, वामदेव गौतमलाई कुनै तरिकाले संसद् प्रवेशको द्वार खोलिदिने र माधव नेपाललाई कार्यबाहक अध्यक्षको कार्यभार सुम्पने भए भने प्रचण्डको सपना क्षणभरमै चकनाचुर हुन असम्भव छैन ।

पूर्वसहमतिअनुरूप तीन वर्ष पुगेपछि मात्र केपीको विकल्प खोजिएको भए प्रचण्डको पक्षमा एकप्रकारको वातावरण बन्न पनि सक्थ्यो । सरकार गठनको डेढ वर्ष नपुग्दै केपीको विस्थापनका निम्ति सक्रियता देखाउन थालेकोले अन्ततः माओवादी पक्षका केहीका साथै ‘एमाले’ पक्षधरजति एकापट्टि हुने सम्भावना प्रबल छ । यतिखेर प्रचण्ड आफ्ना अस्तित्वका निम्ति सम्भवतः अन्तिम लडाइँको तयारीमा छन् । यो लडाइँका क्रममा प्रचण्ड घरि केपीलाई चुनौती दिने अभिव्यक्ति दिँदै छन् त घरि फकाउने र चक्मा दिने प्रकारको प्रस्तुति उनीबाट हुने गरेको छ । तर, बाहिर जे–जे बोले पनि भित्रभित्रै प्रचण्डले लडाइँका निम्ति मोर्चा तयार गरिसकेका छन् ।

थप केही दिन शीतयुद्धको रूपमा देखापरे पनि अन्ततः लड्नका निम्ति मैदानमै उत्रनुपर्ने अवस्थामा प्रचण्ड पुगेका छन् । यसपटक केपीबाट पछारिनुपऱ्यो भने सायद यसपछि प्रचण्ड कहिल्यै उठ्न सक्नेछैनन् । हाल प्रचण्डबाट केपीविरुद्ध भइरहेका गतिविधि रोकेर उनी आफैँ पछि हटेको अवस्थामा भने तत्काल पछारिनबाट उनी जोगिन सक्ने देखिन्छ, होइन भने प्रचण्डका निम्ति ‘यो’ लडाइँ नै ‘अन्तिम’ बन्ने सम्भावना छ ।