मैले शत्रुको नामै तोकेको छु : लेनिन विष्ट (पूर्वबालसैनिक)

मैले शत्रुको नामै तोकेको छु : लेनिन विष्ट (पूर्वबालसैनिक)


पूर्वबालसैनिक लेनिन विष्ट नेपाल फर्किएका छन् । माओवादी हिंसात्मक युद्धकालमा बालसेनाका रूपमा प्रयोग भएका लडाकुहरूको न्याय र दोषीहरूमाथि कारबाहीका निम्ति सङ्घर्ष गर्दै आएका लेनिन विष्ट नेदरल्यान्ड सरकारको पहलमा तीन महिनाअघि युरोप पुगेका थिए । युरोपमा रहँदा विष्टले बालसेनाको न्याय र दोषीहरूमाथि कारबाहीका निम्ति विभिन्न मुलुकका मन्त्री, सांसद, मानवाधिकारकर्मी, कानुनविद् र युरोपिएन युनियन तथा संयुक्त राष्ट्रसङ्घसम्बद्ध उच्चाधिकारीहरूसँग भेटी छलफल गरेका थिए ।

विष्टले हेगस्थित अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी अदालतमा पुगेर कानुनविद् एवम् अन्य अधिकारीहरूसँग परामर्श गरेका थिए । उनले नेदरल्यान्डकी राजकुमारीसँग रात्रिभोज गरेको र त्यस अवसरमा पनि बालसेनाको पीडा र दोषीहरूमाथि कारबाही गर्नुपर्ने विषयमा कुराकानी भएको थियो । तीन महिनासम्म युरोपमा रहँदा विष्टले नेदरल्यान्डबाहेक फ्रान्स, जर्मनी, बेल्जियम, स्वीटजरल्यान्डलगायतको भ्रमण गरी आफूले उठाएका मुद्दाहरूबारे सम्बद्ध पक्षलाई जानकारी गराएका थिए । असार ७ गते शनिबार नेपाल फर्किएका लेनिनले घटना र विचारसँग कुराकानी गर्दै भने, ‘म आफ्नो उद्देश्यमा सफल भएको छु ।’

तपाईंको उद्देश्यचाहिँ के थियो भन्ने प्रश्न गर्दा उनले भने, ‘म नेपालमा भएको युद्ध–अपराधका घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले युरोप पुगेको थिएँ । कि त्यो माओवादी युद्धको औचित्य पुष्टि हुनुपऱ्यो, होइन भने बालसैनिकले न्याय र दोषीले दण्डसजाय पाउनुपऱ्यो । नेपाल सरकारले तयार गरी वर्षेनी बुझाउने प्रतिवेदनमा हाम्रो (द्वन्द्वपीडितको) समस्यालाई सम्बोधन गर्ने गरिएको छैन । त्यसैले मैले यसपटक युद्ध–अपराधका घटनाको प्रमाणसहित युरोपका अधिकांश मुलुकलाई जानकारी गराएको छु ।’

० दोषीहरूको नाम पनि किटान गरेर जानकारी गराउनुभएको छ कि घटना मात्र ?
– दोषीहरूको नामसहित जानकारी गराएको छु, तर अहिले ती नामबारे चर्चा गर्न चाहन्नँ ।

० अब दोषीहरूले कुनै पनि समय हेगमा उपस्थित हुनुपर्ने हुन्छ भन्ने विश्वास तपाईंलाई छ ?
– उनीहरूले आफ्नो प्रक्रियाअनुसार काम गर्ने विश्वास मलाई छ ।

० खासमा तपाईंले युरोपमा भेट्नुभएकोचाहिँ को–कसलाई हो ?
– मैले नेदरल्यान्ड, जर्मनी, बेल्जियम, स्वीटजरल्यान्ड र फ्रान्सका उच्च सरकारी निकायसम्बद्ध अधिकारी, युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घका उच्चाधिकारी, मानवाधिकारवादी सङ्घ/संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय युद्ध–अपराध अदालतका कानुनवेत्ता, अनुसन्धाता र केही प्राध्यापकहरूसँग छलफल गरेँ । नेपालको स्थिति र हामीले भोग्नुपरेको पीडाबारे जानकारी गराएँ ।

० त्यसो भए अब प्रचण्डहरूलाई कानुनी कारबाही होला त ?
– मुख्य कुरा युद्धको औचित्य पुष्टि गर्न सक्नुपऱ्यो । कि जवाफ दिनुपऱ्यो, अब फेरि युद्धको खेती गर्न त पाइएन नि !

० तपाईंले युरोप जाने अवसर कसरी पाउनुभयो ? कसको आयोजनामा यो सम्भव भयो ?
– विगत दश वर्षदेखि म पूर्वबालसेनाको न्यायका निम्ति लडिरहेको छु । यसै क्रममा नेदरल्यान्ड सरकारले मलाई युरोप भ्रमणको अवसर जुटाइदियो । अन्य कतिपय सङ्घ–संस्थाहरूले पनि सहयोग पुऱ्याएका थिए ।

० नेदरल्यान्डको राजपरिवारका सदस्यसँग पनि भेट्नुभएको भन्ने सुनियो, यो सत्य हो ?
– हो, नेदरल्यान्डकी राजकुमारीसँग मेरो भेट भएको हो । उहाँले मलाई रात्रिभोजमा बोलाउनुभएको थियो । उहाँ निकै संवेदनशील र असल मानिस हुनुहुँदो रहेछ । उहाँले धेरै विषयमा जिज्ञाशा राख्नुभएको थियो । मैले आफूहरूलाई युद्धमा कसरी दुरुपयोग गरियो र नेपालको अहिलेको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराएँ ।

० तपाईंलाई युरोपमै बसोबास गर्ने मन भएन ?
– राजकुमारीलगायत सरकारका उच्च अधिकारीहरूबाट मलाई परिवारसहित युरोपमै बसोवास गर्न आग्रह भएको थियो, मैले उहाँहरूलाई धन्यवाद भनेँ । मैले मेरो देशका निम्ति केही गर्नुपर्नेछ, पूर्वबालसेनाका लडाकुलाई न्याय दिलाउनु छ । मजस्तै पीडित सबैले न्याय नपाएसम्म म यो आन्दोलनबाट अलग हुन मिल्दैन भन्ने मेरो प्रतिबद्धता छ । अनि नेपालबाट हजारौँ युवा वर्षेनी पलायन भइरहेका छन्, तिनलाई स्वदेशमै काम गरेर बाँच्न पाउने अवस्थाका लागि मैले लड्नुपर्नेछ । सबै नेपाली युवा बिदेसिन इच्छुक छैनन् भन्ने सन्देश पनि मैले दिनु थियो । त्यसैले मैले उहाँहरूलाई धन्यवाद भनेँ र आफू आफ्नै देशका निम्ति केही गर्न प्रतिबद्ध रहेको जानकारी गराएँ ।

० तपाईं आफू नेपालमा कत्तिको सुरक्षित छु जस्तो लाग्छ ?
– हरेक अभियन्ताहरूलाई सुरक्षा चुनौती जहिले पनि रहन्छ र मलाई पनि छ । मैले युद्ध–अपराधका दोषीहरूमाथि कारबाही र पीडितलाई न्यायको आवाज उठाएको छु । मलाई केही भयो भने त्यसका निम्ति को जिम्मेवार हुनेछन् भन्ने अन्तर्राष्ट्रिय समुदायलाई थाहा छ । नेपालको सुरक्षा निकायले मेरो सुरक्षामा ध्यान दिने विश्वास गरेको छु । नेपालमा को–कसबाट मेरो सुरक्षामा खतरा छ भन्ने जानकारी मैले नामै तोकेर अन्तर्राष्ट्रिय समुदायलाई गराएको छु । ममाथि केही भयो भने त्यसको दोषी को हुनेछ भन्ने जानकारी सबैलाई छ ।