त्यो ‘गी’ मेरो लागि लक्की साबित भयो : सुमित्रा राई

त्यो ‘गी’ मेरो लागि लक्की साबित भयो : सुमित्रा राई


■ श्रीविक्रम भण्डारी

सानैदेखि खेलकुदमा रुचि राख्ने सुमित्रा राईको पारिवारिक वातावरण खेलकुदमय थिएन । छोरीलाई खेलाडी होइन, नर्स बनाउने पारिवारिक सोच थियो । तर, खेलकुद भनेपछि भुतुक्कै हुने सुमित्राले पारिवारिक सोचमाथि धावा बोल्दै नर्सिङको पढाइलाई नजरअन्दाज गर्दै खेलकुदलाई आत्मसात् गरिन् । स्कुलको अध्ययनका क्रममा फुटबल, एथलेटिक्स र उसुमा आफ्नो भाग्य अजमाएकी सुमित्राले त्यहाँ सफलताको झण्डासमेत गाडिन् । सानो उमेर, चञ्चले स्वभाव र स्कुलस्तरमा पाएको सफलता सुमित्राको लागि उत्साहको मार्ग बन्यो । इलाममा आयोजित स्थानीय उसु प्रतियोगितामा स्वर्ण पदक जितेपछि निकै हौसिएकी सुमित्रालाई त्यसपछि खेलकुदको नसाले छपक्कै छोप्यो । साँचो रूपमा भन्नुपर्दा त्यसपछि उनी खेलकुदको ‘ब्लाइन्ड सपोर्टर’ बनिन् । यही आत्मविश्वासका साथ भविष्यमा उत्कृष्ट खेलाडी बन्ने सपना बोकेर सुमित्रा काठमाडौंतर्फ हानिएकी थिइन् ।

परिवारको चाहनाविरुद्ध अगाडि बढेपछि अर्थात् खेलकुदमा होमिएपछि सुमित्रालाई परिवारले खुला छोडिदियो । खुला भन्नाले आफ्नो भित्री मनले जे चाहन्छ त्यो गर भन्ने पारिवारिक सङ्केत पाउना साथ सुमित्राले खेलकुदसँगै कमर्सलाई आफ्नो पहिलो रोजाइमा पारिन् । त्यसपछि पढाइसँगै खेलकुदलाई सँगसँगै लगेकी सुमित्राले ०६८ सालदेखि जुडो खेल्न थालिन् । उनलाई जुडो खेल्नतर्फ आकर्षित गर्ने अर्थात् प्रेरित गर्ने व्यक्ति शेरबहादुर दर्लामी मगर थिए । शेरबहादुरकै प्रेरणाले उनी पहिलोपटक जुडोको प्रशिक्षण गर्न दशरथ रंगशाला परिसर पुगिन् । जुडोको प्रशिक्षण गर्दै जाँदा त्यसैमा रमाएकी सुमित्राले त्यसपछि आफ्नो भविष्य जुडो खेलमै देख्न थालिन् । अथक मिहिनेत र अनुशासनले गर्दा उनी छोटो समयमै जुडो प्रशिक्षकहरूको नजरमा पर्न सफल भइन् । उनको यही मिहिनेत र अनुशासनलाई दृष्टिगत गर्दै प्रशिक्षक वीरेन्द्र रञ्जितलगायत अन्य प्रशिक्षकले सुमित्रालाई जुडोको प्रशिक्षण दिए ।

सुमित्राले सन् २०१६ मा पहिलोपटक जुडो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाइन् । ४८ केजी तौल समूहमा राष्ट्रिय छनोटमा प्रतिस्पर्धा गरेकी सुमित्राले आफ्नो पहिलो प्रयासमै रजत पदक जित्दा खुसीको कुनै सीमा थिएन । त्यसपछि बढेको आत्मबलले सुमित्राको खेलजीवनलाई प्रफुल्लित मात्र नभई आशाका नौला किरणहरू पनि देखाए । जसलाई क्यास गर्न उनले अझै मिहिनेत गर्न थालिन् र स्वर्ण पदकमाथि अर्जुनदृष्टि बनाइन् । सोही वर्ष २०१६ मा नोकोस जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी सुमित्राले पुनः रजत पदक जितिन् । तर, विडम्बना ! २०१६ मै आयोजित राष्ट्रिय खेलकुद परिषद् जुडो च्याम्पियनसिपमा तेस्रो स्थानमा खुम्चिएपछि सुमित्राले टेकेको भुइँ खस्केको थियो । आफ्नो सपनामाथि कुठाराघात भएपछि सुमित्रा निकै रोएकी थिइन् । अन्त्यमा उनले खेलकुद नै छोड्ने निर्णयसमेत गरिन् । आफूले गरेको मिहिनेत बालुवामा पानी हालेजस्तै भएपछि उनले यस्तो अप्रिय निर्णय गर्न बाध्य भएकी थिइन् । तर, साथीभाइ र गुरुहरूले खेलकुदमा हारजित एक सिक्काको दुई पाटा भएको संस्मरण गराउँदै अझै मिहिनेत गर्न सुझाएपछि सुमित्रा पुनः जुडोमा होमिएकी थिइन् ।

प्रथम हुनुपर्ने खेलमा समेत पराजयको मुख देख्नुपरेपछि निकै निराश बनेकी सुमित्राको लागि प्रशिक्षक वीरेन्द्र गुरुले दिएको ‘गी’ लक्की साबित भयो । उक्त ‘गी’ लगाएर खेल्न थालेपछि उनलाई सफलताले चुम्न थाल्यो । सातौँ राष्ट्रिय प्रतियोगितामा सुमित्राले जितेको स्वर्ण पदक यसकोे उदाहरण हो । उनले सातौँमा स्वर्ण पदक जित्दा यही ‘गी’को प्रयोग गरेकी थिइन् । पहिलोपटक आफ्नो तौल समूहमा स्वर्ण पदक जितेपछि सगरमाथाको चुचुरोमा पुगेको महसुस भएको थियो उनलाई । ‘म यति खुसी थिएँ कि म त्यसको वर्णन गर्न सक्दिनँ, किनकि त्यसको लागि मैले धेरै मिहिनेत र प्रतीक्षा गरेकी थिएँ । आफ्नो मिहिनेतले रङ्ग देखाएपछि खुसी हुनु स्वाभाविकै थियो, भएँ पनि । खेलजीवनमा होमिएपछि पाएको यो राष्ट्रियस्तरको स्वर्ण पदक मेरो लागि अतुलनीय थियो, जुन मेरो खेलजीवनको अविष्मणीय क्षण बनेको छ । जसलाई म कहिल्यै बिर्सन सक्दिनँ,’ उनी भन्छिन् । त्यसपछि सोही साल (२०१७) आयोजना भएको अम्बिकाबहादुर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि सुमित्राले राहतको सास फेरिन् । किनकि खेलजीवनमा निकै उतारचढाव भोगिकी सुमित्राका लागि प्रत्येक प्रतियोगिता चुनौतीपूर्ण बनेको अवस्थामा लगातार स्वर्ण पदक जितेपछि उनले यस्तो अनुभव गरेकी हुन् । तर, सोही सालको अन्त्यतिर ओलम्पिक डेमा आयोजित ओलम्पिक डे जुडो च्याम्पियनसिपमा पुनः रजत पदकमै सीमित हुँदा सुमित्राको मन निकै कुँडिएको थियो ।

सफलता र असफलतासँग पैँठाजोरी खेल्दै गर्दा पुनः सुमित्राको झोलीमा खुसी पऱ्यो । सन् २०१८ मा आयोजित राखेप च्याम्पियनसिप जुडो प्रतियोगितामा सुमित्राले स्वर्ण पदक जितिन् । जसले उनको आत्मविश्वासमा ठूलो आशा जगायो । त्यसपछि सोही वर्ष अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ढोका खुल्दा उनी नेपालमा आयोजना भएको साउथ एसियन जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेर पहिलोपटक अन्तर्राष्ट्रिय पदक आफ्नो झोलीमा हाल्न सफल भइन् । पहिलोपटक अन्तर्राष्ट्रिय पदक जित्दाको आनन्द अहिले पनि उनको जीवनको सुखद पाटोको रूपमा रहेको छ । त्यस्तै, सोही वर्षको अन्तिममा सुमित्राले पहिलोपटक विदेशमा गएर जुडोको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाइन् । थाइल्यान्डमा आयोजित थाइल्यान्ड अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी सुमित्राले उक्त च्याम्पियनसिपमा चाइनिज ताइपेई र भुटानलाई पराजित गरे पनि पदक जित्नबाट भने वञ्चित भइन् । उनी क्वार्टरफाइनलमा आयोजक थाइल्यान्डकी खेलाडीसँग पराजित भइन् । त्यसपछि उनले दुबईमा आयोजना भएको एसियन प्यासिफिक जुडो खेलमा प्रतिस्पर्धा गरे पनि पहिलो राउन्डभन्दा माथि बढ्न सकिनन् ।

आफ्नो स्तरीयतालाई क्रमिक रूपमा सुघार गर्दै आएकी सुमित्राले प्रदेश ५ को नेपालगन्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियागितामा स्वर्ण पदक जितेपछि उनी जुडोमा पुनः छाइन् । अहिले नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेकी सुमित्राले उक्त प्रतियोगितामा नेपाललाई पदक दिलाउन प्रतिबद्धता जाहेर गरेकी छिन् । आफूसँग साग खेलेको अनुभव नभए पनि दक्षिण एसियाली जुडो च्याम्पियनसिप खेलेको र पदक जितेको अनुभव भएकोले उत्कृष्ट प्रदर्शन गर्ने दाबी उनको छ । आफूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेपछि खेलकुदले मोहनी नै लगाएको बताउने सुमित्राले खेलकुदबिना आफ्नो जीवन अधुरो भएको बताइन् । देशका सफल खेलाडीसँग आफ्नो तुलना गर्न हिचकिचाउने सुमित्राले मिहिनेत गरे त्यो ठाउँमा पुग्न कठिन नहुने बताइन् । उनी भन्छिन्, ‘मेरो सपना १३औँ सागमा स्वर्ण पदक जित्ने हो, म अहिले त्यो सपना देखिरहेकी छु, यदि मैले स्वर्ण पदक जितेँ भने राष्ट्रको झण्डा कसरी फरफराउनेछु त्यसको कल्पना गर्दै दिनरात मिहिनेत गरिरहेकी छु । म विश्वस्त छु, १३औँ साग मेरो खेलजीवनको खुसी बनेर आउनेछ ।’