दक्षिण अमेरिकामा ‘मातृभूमिका लागि नेपाली’को समिति

दक्षिण अमेरिकामा ‘मातृभूमिका लागि नेपाली’को समिति


मातृभूमिका लागि नेपाली अभियानअन्तर्गत दक्षिण अमेरिकामा ७ सदस्यीय राष्ट्रिय समितिको गठन भएको छ ।

मातृभूमिका लागि नेपाली अभियानका केन्द्रिय परिषद सदस्य एवं दक्षिण अमेरिकाका संयोजक छत्रबहादुर मैनालीको अध्यक्षतामा २३ जून २०१९ आइतबारका दिन सम्पन्न भेलाले उक्त समितिको गठन गरेको हो ।

गठित समितिको सह–संयोजकमा सरोज अर्याल, सचिवमा धर्मराज आचार्य, कोषाध्यक्षमा शाक्षी गुरुङ, सह–सचिवमा हर्कराम गुरुङ रहनुभएको छ भने सदस्यहरुमा विनोद केसी र श्याम गाहा मगर रहनुभएको छ ।

भेलाले सह–संयोजक सरोज अर्यालको नेतृत्वमा चिलिमा रहेका नेपाली समुदायको छुट्टै प्रवास समिति निर्माण गर्ने साथै छिमेकी मुलुकहरु भेनेजुएला, ब्राजिल, अर्जेन्टिना, गुयाना, सुरिनाम, पाराग्वे, उरुग्वेमा बसोबास गर्ने नेपाली समुदायहरुसँग आवश्यक सम्पर्क स्थापित गरेर समिति गठन गर्न सर्वसम्मत निर्णय गरेको संयोजक मैनालीले बताउनुभयो ।

मातृभूमिका लागि नेपाली अभियानले आफ्नो धर्म, संस्कृति र परम्परा सुरक्षित गर्दै मुलुकलाई बैदीक सनातन हिन्दू राष्ट्र कायम गरी विश्व पहिचान गराउने प्रमुख लक्ष्य लिएको बताइएको छ ।

त्यसैगरी अव्यवाहारिक, अत्यधिक खर्चिलो र जनतामा करको भार पर्ने, आम नेपालीको भूमि, भावना र भविष्यलाई सुरक्षित गर्न नसक्ने, जनचाहनाविपरीत लादिएको ‘संघीयता’ खारेज गरी जनताको जीवन सरल, सहज र सुरक्षित हुने किसिमको विकेन्द्रीकरणसहित एकीकृत एवम् सुदृढ भार्वभौम साझा नेपालको स्थापना गर्ने अभियानको दोस्रो उद्देश्य रहेको मातृभूमिका लागि नेपाली केन्द्रीय समितिका संयोजक देवप्रकाश त्रिपाठीले बताउनुभयो ।

संयोजक त्रिपाठीका अनुसार अपमानमूलक ढंगले जातीय आधारमा भएको आरक्षण खारेज गरी पछाडि परेका वा पारिएका वर्गको सवलीकरण गर्ने, सार्वजानिक भूमिकामा रहेका प्रत्येकको सम्पत्ती छानबिन गर्ने र भ्रष्टाचारीलाई अनिवार्य सजायको भागिदार बनाउँदै सुशासन र पारदर्शितासहितको भ्रष्टाचारमुक्त नेपाल निर्माणमा प्रतिबद्ध रहँदै उक्त अभियान संचालन गरिएको हो ।