‘सरकार आफैं ढल्ने सूचना छ’ : मनिष सुमन

‘सरकार आफैं ढल्ने सूचना छ’ : मनिष सुमन


वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूसँग सुचना रहेको राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले दाबी गरेका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ओली सरकारले देश तथा मधेश कसैको पनि हित नगर्ने राजपाको ठम्याई रहेको जानकारी दिँदै सुमनले भने– ‘हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौँ, बरु यो सरकार आफैं ढल्ने सुचना मसँग छ ।’

उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे ।

आफ्नो पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको बताए ।

अर्को प्रसङ्गमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे । उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ । उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन् । जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौँ ।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनले बताए ।