इंग्ल्यान्ड र अष्ट्रेलियाबीच ‘मिनी एसेज’ हुँदै

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच ‘मिनी एसेज’ हुँदै


विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज असार १० गते आयोजक इंग्ल्यान्ड र अष्ट्रेलियाबीच खेल हुँदैछ । यस विश्वकपको प्रवल दाबेदार मानिएका यी दुई टीमको खेललाई ‘मिनी एसेज’को संज्ञा दिइएको छ । क्रिकेटको मक्का मानिने लर्डस् मैदानमा आयोजना हुने खेल निकै सनसनीपूर्ण हुने अड्कल काटिएको छ ।

यस पटकको विश्वकपमा अहिलेसम्म आयोजक इंग्ल्यान्डले ६ खेलको छ, जसमा ४ वटामा जित र २ मा हार ब्यहोर्दै अंक तालिकामा चौथो स्थानमा छ । इंग्ल्यान्डले दक्षिण अफ्रिका, वेष्टइन्डिज, बंगलादेश र अफगानिस्तानसँगको खेलमा विजयी बने पनि पाकिस्तान र श्रीलंकासँग पराजित भएको थियो ।

यतिबेला आयोजक इंग्ल्यान्डका लागि अन्तिम चारमा स्थान सुनिश्चित गर्न बाँकी तीन खेलमध्य दुई खेल जित्नुपर्ने दबाब छ । अष्ट्रेलियापछि इंग्ल्यान्डले अन्य दुई विश्वकपका दावेदार भारत र न्युजील्यान्ड खेल्नुपर्ने छ । त्यसको लागि इग्ल्यान्डले स्वभाविक खेल खेल्नुपर्ने बाध्यता भएको छ ।

पछिल्लो २७ बर्षको विश्वकप क्रिकेटको इतिहासमा अष्टे«लिया, भारत र न्युजील्यान्डलाई इंग्ल्यान्डले पराजित गरेको रेकर्ड छैन् । त्यसैले यतिबेला इंग्ल्यान्डका लागि अन्तिम चारमा स्थान बनाउन जटिल बन्दै गएको छ । यो विश्वकपमा सवैभन्दा बलियो मानिएको इंग्ल्यान्ड पाकिस्तान र श्रीलंकासंग अपत्यारिलो ढंगवाट पराजित हुनु दुर्भाग्य मानिएको छ ।

त्यस्तै यो विश्वकपमा अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अष्ट्रेलियाले अहिलेसम्म खेलेका ६ खेलमध्य ५ खेलमा विजय हासिल गरेको छ भने एउटा खेलमा मात्र पराजित भएकोछ । अष्ट्रेलिया भारतसंग पराजित भएको थियो । अष्ट्रेलिया यतिबेला अंक तालिका १० अङ्क जोड्दै दोश्रो स्थानमा छ ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच भएका पछिल्ला १० खेलमा इंग्ल्यान्डले ९ खेलमा विजय हासिल गरेको छ । यतिबेला इंग्ल्यान्ड दबाबमा परेको र अष्ट्रेलियाका व्याट्म्यान र बलरले उत्कृष्ट प्रदर्शन गर्दा कसले बाजी मार्ला त्यो आजको खेलले नै देखाउने छ ।