हेटौँडा उपमहानगरको बजेट एक अर्ब ८१ करोड

हेटौँडा उपमहानगरको बजेट एक अर्ब ८१ करोड


मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६–७७ को लागि एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेकोे बजेटमा आन्तरिक स्रोतबाट रु. ३० करोड ३४ लाख ९१ हजार, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं. ३ सरकारको विभिन्न अनुदानबाट रु. आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी संघीय सरकारको अनुदानबाट रु. ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट रु. १० करोड व्यहोरिने उपप्रमुख लामाले बताइन् ।

बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि रु. १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताइन् । कार्यालयको सुशासनतर्फमा रु. ६ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि रु. ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रु. ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताइन् ।