शकिवको उत्कृष्ट प्रदर्शनसँगै विश्वकपबाट बाहिरियो अफगानिस्तान

शकिवको उत्कृष्ट प्रदर्शनसँगै विश्वकपबाट बाहिरियो अफगानिस्तान


विश्वकप २०१९ अन्तर्गत भएको बंगलादेश र अफगानिस्तानबीचको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । बंगलादेशलाई विजयी बनाउन अलराउन्डर शकिव अल हसनले अर्धसतकीय पारी खेल्नुका साथै अफगानिस्तानका पाँच महत्वपूर्ण विकेट लिएका थिए ।

यो प्रदर्शनसँगै शकिवले विश्वकप क्रिकेटमा आफ्नो ब्यक्तिगत १ हजार रन पनि पुरा गरेका छन् । साथै यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको रुपमा आफुलाई अग्रपङ्क्तिमा राख्न सफल भएका छन् ।

शकिवले १० ओभरमा २९ रन दिएर ५ विकेट लिएका थिए । उनको यो प्रदर्शनसँगै उनी विश्वकपमा एउटै खेलमा अर्धसतक बनाउने र पाँच विकेट लिने दोश्रो खेलाडी समेत बनेका छन् । शकिव विश्वकपमा १ हजार रन बनाउने बंगलादेशका पहिलो खेलाडी बनेका छन् । यो विजयसंगै बंगलादेशले ७ अंक जोड्दै अन्तिम चारमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो व्याटिङ गर्दै बंगलादेशले २ सय ६२ रन बनाएको थियो । त्यसमा मुश्फीकुर रहिम ८३ र शकिवले ५१ रनको महत्वपूर्ण अर्धसतकीय पारी खेलेका थिए । २ सय ६३ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको अफगानिस्तान २ सय रनमै अलआउट भएको थियो । यो पराजयसँगै अफगानिस्तान विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।